काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारका कमजोरीबारे कडा प्रश्न गरेका छन्।
कांग्रेसको ३५ वर्षको राजनीतिक यात्राका नाममा आफूहरूलाई सबै कमजोरीको जिम्मेवार ठहराउने रास्वपाले सरकारमा पुगेपछि भने प्रधानमन्त्रीलाई मात्रै जिम्मेवार देखाउन खोजेको भन्दै थापाले प्रश्न उठाएका हुन्।
कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै थापाले भने, ‘केही कुरा बोल्दै गर्दा हामीले ३५ वर्षको जिम्मा लिनुपर्ने। तर अहिले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा हुँदा चाहिँ प्रधानमन्त्रीले मात्रै जिम्मा लिनुपर्ने?’
उनले थप प्रश्न गर्दै भने, ‘त्यहाँ चाहिँ प्रधानमन्त्री भएकाले मात्र जिम्मा लिनुपर्ने, हामी चाहिँ सबैले लिनुपर्ने?’
थापाले कांग्रेस आफ्नो नेतृत्वमा भएका कमजोरी र गल्तीको जिम्मेवारीबाट नभाग्ने स्पष्ट पारे। आफ्नो पालामा भएका कमजोरीको समीक्षा गर्न कांग्रेस तयार रहेको उनको भनाइ छ।
उनका अनुसार आगामी समीक्षा सरकारको चार महिनाको काममा मात्र सीमित हुने छैन। प्रतिपक्षमा रहेर कांग्रेसले गरेका काम र निर्वाह गरेको भूमिकाको समेत गम्भीर समीक्षा गरिनेछ।
रास्वपाले विगतको राजनीतिक नेतृत्वमाथि प्रश्न उठाउँदै वर्तमान सरकारका निर्णय र कामको जिम्मेवारी प्रधानमन्त्रीमै केन्द्रित गर्ने गरेको अवस्थामा थापाको यो अभिव्यक्तिलाई रास्वपामाथिको प्रत्यक्ष राजनीतिक प्रतिवादका रूपमा हेरिएको छ।



















प्रतिक्रिया