काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब पाँच महिनापछि स्वदेश फर्किन लागेसँगै उनको भव्य स्वागतको तयारी गरिएको छ।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा देउवाको स्वागत गर्ने तयारी भइरहेको नेता मीन विश्वकर्माले जानकारी दिए। देउवा २८ गते दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने कार्यक्रम रहेको छ।
विश्वकर्माका अनुसार देउवाको स्वागतका लागि पार्टीका शीर्ष नेताहरू संयोजक कोइरालाको नेतृत्वमा विमानस्थल पुग्नेछन्। उनका अनुसार स्वागतका लागि करिब ५ देखि ७ हजार नेता–कार्यकर्ता विमानस्थलमा उपस्थित हुने अनुमान गरिएको छ।
देउवाको स्वागत तथा राष्ट्रिय भेलाको तयारीबारे छलफल गर्न आयोजक समितिको बैठक पनि बस्दैछ। स्वागतमा कार्यकर्ता सहभागिताको संख्या र व्यवस्थापनबारे बैठकले थप निर्णय गर्ने बताइएको छ।
देउवा गत फागुन १३ गते सिंगापुर गएका थिए। राष्ट्रिय भेलाको तयारी भइरहेका बेला उनी काठमाडौं फर्किन लागेका हुन्। आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट निस्सा पाएपछि देउवा समूह उत्साहित बनेको छ।
देउवा समूह राष्ट्रिय भेलाको तयारीमा केन्द्रित भइरहँदा कांग्रेसको संस्थापन पक्ष भने महाधिवेशनको तयारीमा जुटेको छ। थप निर्णयका लागि कांग्रेस केन्द्रीय समितिको बैठक दुई दिनदेखि जारी छ।





















प्रतिक्रिया