हिमपहिरोमा ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज नेपाल ल्याइँदै


काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी निधन भएका तीन नेपाली नागरिकको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते भएको हिमपहिरोमा परी निधन भएका किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत आज अपराह्न ४ः४५ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

उक्त दुर्घटनामा परी निधन भएका पुरबहादुर गुरुङ ‘युक्त’को शव भने यसअघि नै साउन २१ गते नेपाल ल्याइसकिएको छ।

ब्रोड पिकमा भएको हिमपहिरोमा नेपालीसहित विभिन्न देशका आरोही प्रभावित भएका थिए। दुर्घटनास्थलबाट अझै एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोहीको शव फिर्ता ल्याउन बाँकी रहेको बताइएको छ।