काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलाले पार्टीको आगामी १५औँ महाधिवेशन पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने निर्णय गरेको छ।
आइतबार सम्पन्न भेलाले पार्टीको आन्तरिक सुदृढीकरण तथा आगामी कार्यदिशासम्बन्धी विभिन्न प्रस्ताव पारित गरेको हो। भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने तथा त्यसको नेतृत्व देउवाले नै गर्ने निर्णय गरेको नेता दीपक कुइँकेलले जानकारी दिए।
महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीका नियमित गतिविधिहरू देउवाको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकहरूले संयोजन गर्ने निर्णयसमेत भेलाले गरेको छ।
मुलुकको विद्यमान जटिल परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि अन्य लोकतान्त्रिक शक्तिसँग निरन्तर संवाद र सहकार्य गर्ने नीति लिइएको कुइँकेलले बताए।
त्यस्तै, भेलाले नेपालको सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको अभिन्न अंगका रूपमा स्वीकार गरेको छ। हिन्दु, बौद्ध, किराँत तथा प्राकृतलगायत धर्म र संस्कृतिको संरक्षण गर्ने दायित्वबोध गर्दै धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्न पार्टी प्रतिबद्ध रहने प्रस्ताव पनि पारित गरिएको कुइँकेलले बताए।




















प्रतिक्रिया