काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा र अर्थमन्त्री स्वर्णिम वाग्लेसहित नेपाल तथा भारतका प्रमुख राजनीतिक दलका नेताहरू एउटै मञ्चमा देखिने भएका छन्।
भारतीय टेलिभिजन च्यानल एनडीटीभी वर्ल्डले आगामी २७ अगस्ट अर्थात् ११ भदौमा काठमाडौंमा नेपाल–भारतका विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्वलाई सहभागी गराउँदै विश्वव्यापी संवाद शृङ्खला ‘कन्क्लेभ’ आयोजना गर्न लागेको हो।
काठमाडौंको याक एन्ड यति होटलमा आयोजना हुने कार्यक्रममा नेपाल र भारतका राजनीति, अर्थतन्त्र, व्यवसाय तथा अन्य क्षेत्रका प्रभावशाली व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ।
कन्क्लेभमा नेपालका सत्तारुढ तथा प्रतिपक्षी दलका नेताहरूसँगै सरकारका मन्त्रीहरूको पनि सहभागिता रहनेछ। कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी हुने बताइएको छ।
भारतबाट भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय उपाध्यक्ष राम माधव, भाजपा विदेश विभागका प्रमुख विजय चौथाइवाले र भाजपा राष्ट्रिय कार्यकारिणी सदस्य विनय सहस्रबुद्धे सहभागी हुनेछन्। भारतीय राष्ट्रिय कांग्रेसका नेता शशी थरुर तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको पनि सहभागिता रहने जनाइएको छ।
कन्क्लेभमा नेपालको बदलिँदो राजनीति, अर्थतन्त्र र सामाजिक अवस्थाका साथै भारतसँगको सम्बन्ध तथा क्षेत्रीय राजनीतिमा नेपालको भूमिकाबारे छलफल हुनेछ।
त्यसैगरी नेपालको आर्थिक विकासका योजना, व्यवसाय सञ्चालनका अवसर, लोकतान्त्रिक व्यवस्थामा आएका परिवर्तन तथा युवाका अपेक्षालगायत विषयमा पनि संवाद हुने जनाइएको छ।
कार्यक्रममा प्रविधि, पर्यटन, पूर्वाधार, वातावरण, व्यापार तथा क्षेत्रीय सहकार्यजस्ता विषयलाई समेत छलफलमा समेटिने आयोजकले जनाएको छ।






















प्रतिक्रिया