गरिमा हत्या प्रकरण : सहमति होइन, कडा कानुनी कारबाहीको माग


काठमाडौँ । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर सांसदहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले गरिमाको परिवारसँग सरकारले गरेको सहमतिप्रति आपत्ति जनाइन्। उनले राहत र सहमतिले तत्कालको पीडा कम गरे पनि दीर्घकालीन न्याय र राज्यप्रतिको विश्वास कायम गर्न नसक्ने बताइन्।

गच्छदारले जघन्य अपराधमा मिलापत्र गराउने वा अपराधीलाई उन्मुक्ति दिने प्रवृत्ति रोक्न तथा दोषीमाथि कडा कारबाही गर्न माग गरिन्।

त्यस्तै, रास्वपा सांसद श्रद्धा कुँवर क्षेत्रीले अपराधको प्रकृति र गम्भीरताका आधारमा कानुनी कारबाही हुनुपर्ने बताइन्। उनले बलात्कार तथा गम्भीर महिला हिंसाका घटनामा कडा सजायको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गरिन्।