काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन्।
देउवा र खड्काले महाधिवेशन प्रक्रिया तथा कार्यतालिका रोक्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै पूरक निवेदन दर्ता गराएका हुन्।
कांग्रेसको आधिकारिकता विवाद टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने उनीहरूको जिकिर छ। यसअघि पनि देउवा–खड्का पक्षले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्चमा पुनरावलोकन निवेदन दिएका थिए।
विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय सर्वोच्चले सदर गरेपछि देउवा–खड्का पक्षले उक्त फैसलाको पुनरावलोकन माग गरेको थियो। सर्वोच्चले पुनरावलोकनका लागि निस्सा दिएपछि कांग्रेसको आधिकारिकताको विवाद पुनः अदालतमा विचाराधीन छ।
यता गगन थापा नेतृत्वको कांग्रेसले भने १५औँ महाधिवेशनको तयारीलाई निरन्तरता दिइरहेको छ।
सर्वोच्च अदालतले देउवा र खड्काले दायर गरेका पूरक निवेदनमाथि आगामी ११ गतेका लागि पेसी तोकेको छ। अदालतको आदेशसँगै कांग्रेसको महाधिवेशन प्रक्रिया र पार्टीको आधिकारिकता विवाद थप प्रभावित हुन सक्ने देखिएको छ।






















प्रतिक्रिया