काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनको समस्या फेरि चर्किएको छ। फोहोर व्यवस्थापनसम्बन्धी विवाद र धादिङ–१ की सांसद आशिका तामाङको १५ दिने अल्टिमेटमपछि काठमाडौं उपत्यका मेयर्स फोरमले आकस्मिक बैठक बसेर प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्ने निर्णय गरेको छ।
मंगलबार बसेको बैठकपछि फोरम अध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि संघीय सरकारसँग निर्णायक पहल गर्न आग्रह गरिने बताए।
उनका अनुसार काठमाडौंको फोहोर व्यवस्थापनमा मुख्य समस्या संघीय सरकारको नीतिगत अनिर्णय, बञ्चरेडाँडाको जग्गाको भोगाधिकार र वर्षौंदेखि कार्यान्वयन हुन नसकेको फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता हो। सरकारले सम्झौता कार्यान्वयन गर्ने वा खारेज गर्ने स्पष्ट निर्णय गर्नुपर्ने फोरमको माग छ।
बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका लागि अधिग्रहण गरिएको जग्गाको स्वामित्व संघीय सरकारसँग रहे पनि व्यवस्थापनको जिम्मेवारी स्थानीय तहमा रहेको भन्दै मेयरहरूले दीर्घकालीन संरचना निर्माणमा समस्या भएको बताएका छन्।
यसबीच सिसडोल–बञ्चरेडाँडाका स्थानीयले वर्षौंदेखि फोहोरको दुर्गन्ध, प्रदूषण र स्वास्थ्य समस्याको सामना गर्दै आएका छन्। स्थानीय तहले स्वास्थ्य, शिक्षा तथा पूर्वाधारमा सहयोग गर्दै आए पनि दीर्घकालीन समाधान हुन सकेको छैन।
फोरमका अनुसार अब संघीय सरकारले फोहोर प्रशोधनसहितको दीर्घकालीन व्यवस्थापन वा प्रभावित बस्तीको उचित व्यवस्थापनबारे ठोस निर्णय गर्न आवश्यक छ। प्रधानमन्त्रीसँगको भेटमा यही विषयलाई प्राथमिकताका साथ उठाउने फोरमको तयारी छ।





















प्रतिक्रिया