विपद्को सामना गर्न एकजुट हुने सर्वदलीय निर्णय


काठमाडौँ । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट आएको अप्रत्याशित बाढीबाट भएको जनधनको क्षतिप्रति सर्वदलीय बैठकले दुःख व्यक्त गर्दै विपद्को सामना गर्न राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट हुने प्रतिबद्धता जनाएको छ।

बिहीबार सिंहदरबारमा बसेको बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको हो।

बैठकले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइतेको उपचार, हेरचाह तथा मनोसामाजिक परामर्शको जिम्मेवारी राज्यले लिनुपर्नेमा जोड दिएको छ।

विपद् सिंगो राष्ट्रको साझा संकट भएकाले नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर सबै दल एकजुट हुने प्रतिबद्धता बैठकले जनाएको छ। बैठकले विपद् व्यवस्थापन र आगामी पूर्वतयारीका लागि १० बुँदे साझा संकल्पसहित अपिलसमेत जारी गरेको छ।

अपिलमा रास्वपा, कांग्रेस, नेकपा, एमाले, श्रम संस्कृति पार्टी, राप्रपा, जसपा नेपाल र जनमत पार्टीका नेताहरू सहभागी छन्।