काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएका छन् । मन्त्रिपरिषद्ले प्रधानमन्त्रीकै नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल न्युयोर्क पठाउने निर्णय गरेको हो ।
यसअघि महासभामा परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरिएको थियो । तर, भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नेपालले भोगेको जनधनको क्षति र बढ्दो जलवायु जोखिमलाई विश्वमञ्चमा प्रधानमन्त्री तहबाटै उठाउनुपर्ने दबाब बढेपछि नेतृत्व परिवर्तन गरिएको हो ।
प्रधानमन्त्री शाहले महासभामा विशेषगरी भोटेकोशी बाढी, हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिम, जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षति र जलवायु न्यायको विषय उठाउने तयारी छ । नेपालले जलवायु संकटबाट भएको क्षतिका लागि अन्तर्राष्ट्रिय सहयोग तथा क्षतिपूर्तिको विषयलाई समेत जोडदार रूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको औपचारिक सत्र सेप्टेम्बर ८ बाट सुरु हुँदैछ भने उच्चस्तरीय महासभा बहस सेप्टेम्बर २२ बाट सुरु हुनेछ । प्रधानमन्त्री शाह छोटो भ्रमण गर्ने र महासभामा सम्बोधन गरेलगत्तै फर्किने तयारीमा छन् ।
प्रधानमन्त्रीसँग जाने प्रतिनिधिमण्डललाई सकेसम्म सानो बनाउने तयारी गरिएको छ । प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयलाई भ्रमणको तयारी अघि बढाउन निर्देशन दिइसकेको छ । प्रधानमन्त्रीसँग को–को जाने भन्ने विषय भने अन्तिम टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।
प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो विदेश भ्रमणसमेत हुनेछ । उनले यसअघि नेपालमै बसेर सरकार सञ्चालन गर्ने बताउँदै आएका थिए ।
भोटेकोशी बाढीपछि नेपालले जलवायु परिवर्तनबाट हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै आएको छ । प्रधानमन्त्री शाहले पनि संसद्मा सम्बोधन गर्दै जलवायु परिवर्तन विश्वव्यापी समस्या भएकाले यसको प्रभाव न्यूनीकरण र व्यवस्थापनमा अन्तर्राष्ट्रिय समुदायको साझा जिम्मेवारी रहेको बताएका थिए ।



















प्रतिक्रिया