काठमाडौं – प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकालाई सम्झिँदै भावुक सन्देश दिएका छन् ।
उनले बाढीका कारण आफ्ना अभिभावक तथा आफन्त गुमाएका र विस्थापित भएका बालबालिकाको पीडाप्रति दुःख व्यक्त गर्दै उनीहरूको सुरक्षित र उज्यालो भविष्य निर्माणका लागि सरकार लागिपरेको बताएका छन् ।
प्रधानमन्त्री शाहले विपद्बाट पाठ सिक्दै बालबालिकालाई विपद् पूर्वतयारी, बचत तथा जलवायु परिवर्तनबारे अध्ययन र जनचेतनामा जोडिन आग्रह गरेका छन् ।
उनले विपद्को समयमा ज्यानको परवाह नगरी उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित विज्ञ टोलीलाई धन्यवाद दिँदै संकटको समयमा एकता, सद्भाव र भ्रातृत्वको भावना कायम राख्न आह्वान गरेका छन् ।
‘विपद्को भाषा विनाश र दुःख हो, तर यस्तो संकटका बेला हामीले एकता, सद्भाव र भ्रातृत्वको भावना मनमा राखेर काम गर्नुपर्छ,’ प्रधानमन्त्री शाहले भनेका छन् ।
उनले श्रीकृष्णको सन्देश स्मरण गर्दै संघर्ष र विपद्को समयमा निराश नभई धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्नुपर्ने बताएका छन् ।
‘हामी रोकिँदैनौँ । आउनुहोस्, हामी सबै मिलेर यो विपद्को सामना गरौँ र सुरक्षित एवं उज्यालो नेपालको निर्माणमा जुटौँ,’ उनले भनेका छन् ।
उनी लेख्छन्:-
हाम्रा प्यारा नानीबाबुहरू,
आज श्रीकृष्ण जन्माष्टमी। ससाना नानी बाबुहरू राधा–कृष्णको रूपमा सिँगारिएर मखन खाने र रमाउने दिन हो। हातमा बाँसुरी लिएर नानीबाबुहरू रमाइरहनुभएका तस्बीरहरू सामाजिक सञ्जालमा साझा भइरहेका होलान्।
तर, यसपालिको यो उत्सवमा रसुवाभोटेकोशी बाढी प्रभावित क्षेत्रका नानीबाबुहरू त्यसरी खुशी हुन सक्नुभएन। उहाँहरू गहिरो पीडामा हुनुहुन्छ। कतिपयले यो पीडा व्यक्त गरिरहनुभएको छ भने कतिपय स्तब्ध हुनुहुन्छ।
अचानक के–के भयो, कतिले त सोच्न समेत भ्याउनुभएको छैन होला। उहाँहरूका आँखाले आफ्ना बाबुआमा र आफन्त खोजिरहेका होलान्। कतिपय बाबुनानीहरूले विपद्को १० औं दिनसम्म आइपुग्दा हाम्रो प्यारो देश नेपालले अहिले ठूलो विपद् भोग्नुपरेको छ भन्ने थाहा पाइसक्नुभएको होला।
साँच्चै, आज देश दुःखी भएको छ। कति साथीहरू छुटिनुभयो। कति घर र बस्तीहरू खण्डहर बनेका छन्। खेल्नेकुद्ने चौरहरू पुरिएका छन्। यहाँहरूको आफ्नै ठाउँ आज बिरानो जस्तै बनेको होला।
प्यारा नानीबाबुहरू,
बाढी गएलगत्तै हामीले प्रभावित क्षेत्रबाट गम्भीर घाइते, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्तिहरू र वृद्धवृद्धासँगै यहाँहरूलाई पनि उद्धारमा पहिलो प्राथमिकता दिएका थियौँ। अहिले पनि त्यो क्रम जारी छ।
हामीले प्रभावित क्षेत्रमा सञ्चालन गरिरहेका होल्डिङ सेन्टरमा यहाँहरू बसिरहनुभएको छ। हामीलाई थाहा छ यहाँहरूका लागि यो बसाइ सहज छैन। तर, हामी चाँडै नै सुरक्षित र सहज बसोबासको व्यवस्था गर्नेछौँ। पुनः यहाँहरूलाई आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गरिदिनेछौँ।
यहाँहरू त भोलिका उज्याला झुल्काहरू हुनुहुन्छ। यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौं। जतिसक्छौं हामी खटिरहेका छौं। त्यसमा यहाँहरूको पनि साथ मिल्ने नै छ।
विपद् फेरि पनि आउला। जलवायु परिवर्तनको ठूलो असर हाम्रो हिमालय क्षेत्रमा परिसकेको छ। हामीमाथि परेको विपद्को यो बज्रपातबारे सारा संसारले थाहा पाइसकेको होला। तर पनि हामीले भोग्न थालेको पीडा र विपद् जोखिमबारे विश्व समुदायलाई निरन्तर जानकारी गराउनुपर्छ र उनीहरूलाई पनि यस्ता जोखिम घटाउन जिम्मेवार बनाउनुपर्छ।
हामी हिमाली देशका बासिन्दा हौं। त्यसैले सधैँ सजग रहनुपर्छ। प्रभावित क्षेत्रका नानीबाबुहरूले प्रत्यक्ष विपद् भोग्नुभयो। अन्य क्षेत्रका नानीबाबुहरू पनि उत्तिकै सतर्क रहनुहोला। यहाँहरूले आफ्नो सुनौलो भोलिका लागि आजैदेखि विपद्सँग लड्न, बच्न र अरूलाई बचाउन सिक्नुपर्छ।
पूर्वतयारीका लागि यी कुरामा ध्यान दिनुहोलाः
१. विपद् झोलाः आफ्नो घरमा सजिलै सबैले भेट्न सक्ने ठाउँमा एउटा ‘विपद् झोला’ राख्न सुरु गर्नुहोस्। यस्तो झोलामा विपद्का बेला अति आवश्यक पर्ने हलुका र साना वस्तुहरू (जस्तैः घाउचोट बाँध्ने पट्टी, आवश्यक औषधि, पानी, सुक्खा खानेकुरा, केही नगद पैसा आदि) राख्नुहोला।
२. ससानो बचतः भोलि आउन सक्ने विपद्का लागि आजैदेखि बचत गर्न सिक्नुहोस्। दैनिकरुपमा १ रुपैयाँ मात्र जम्मा ग¥यौँ भने पनि नेपालभरि एक वर्षमा कति रकम जम्मा होला? यहाँहरु नै आफै हिसाब गर्नुहोस् त?
३. अध्ययन र छलफलः जलवायु परिवर्तन भनेको के हो र यसले हामीलाई के असर पारिरहेका छ भन्नेबारे अध्ययन सुरु गर्नुहोस्। एकआपसमा यस्ता विषयमा छलफल गर्नुहोस् र जनचेतना फैलाउने काममा अगाडि बढ्नुहोस्।
यी त केही सुरुआती कामहरू भए, जुन यहाँहरू आफैँले गर्न सक्नुहुन्छ।
प्यारा नानीबाबुहरू,
केही बेर अघिसम्म विपद्मा पर्नुभएका १३ हजार ९५ जना आमाबाबु, दाजुभाइ, दिदीबहिनीहरूको उद्धार भइसकेको छ।
यो उद्धारमा आफ्नो ज्यानको परबाह नगरी अहोरात्र खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल लगायत अन्य विज्ञ टोलीलाई हामी सबैले हृदयदेखि नै धन्यवाद भन्नुपर्छ।
यस विपद्को समयमा विदेशमा बस्नुहुने नेपालीहरू, मित्र राष्ट्रहरू र विकास साझेदार संस्थाहरूले पनि ठूलो सहयोग गर्नुभएको छ। उहाँहरूप्रति पनि हामी कृतज्ञ रहनुपर्छ।
विपद्को भाषा विनाश र दुःख हो, तर यस्तो संकटका बेला हामीले एकता, सद्भाव र भ्रातृत्वको भावना मनमा राखेर काम गर्नुपर्छ।
श्रीकृष्णले पनि भन्नुभएको छ संघर्ष र विपद्को समयमा हार मानेर वा निराश भएर बस्ने होइन। धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्नुपर्छ। हामी रोकिदैनौं।
आउनुहोस्, हामी सबै मिलेर यो विपद्को सामना गरौँ र सुरक्षित एवं उज्यालो नेपालको निर्माणमा जुटौँ।
धेरै माया..



















प्रतिक्रिया