कांग्रेस एकता र महाधिवेशन सुनिश्चित गर्न केसीको विशेष प्रस्ताव


काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्रको विवाद समाधान गर्दै १५औँ महाधिवेशन समयमै निष्पक्ष रूपमा सम्पन्न गर्न विशेष प्रस्ताव अघि सारेका छन्।

आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पेस गरिएको प्रस्तावमा पुरानो र हालको कार्यसम्पादन समिति एकीकरण, केन्द्रीय समिति विस्तार तथा महाधिवेशन तयारी समितिहरू पुनर्गठन गर्नुपर्ने उल्लेख छ।

केसीले आगामी कात्तिक १७ देखि १९ गतेसम्म १५औँ महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्ने गरी कार्यतालिका तय गर्नुपर्ने प्रस्तावसमेत गरेका छन्। पार्टीभित्र गुटगत विवाद बढिरहेका बेला उनको प्रस्तावले महाधिवेशन सुनिश्चित गर्न सहमतिको प्रयास अघि सारेको हो।