विवाह र प्रेमको कथा बोकेको ‘बेहुली’को ट्रेलर सार्वजनिक


काठमाडौँ। भदौ २६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘बेहुली’को ट्रेलर सार्वजनिक भएको छ। प्रदर्शनको पाँच दिनअघि निर्माण टिमले आइतबार काठमाडौँको जय नेपाल हलमा कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलरमा प्रेम, माया, पारिवारिक सम्बन्ध र मित्रताका विभिन्न आयामलाई प्रस्तुत गरिएको छ। पारस बम ठकुरी र दिव्या रायमाझीको प्रेम केमेस्ट्रीलाई पनि ट्रेलरमा विशेष रूपमा देखाइएको छ।

सशान कँडेलको निर्देशनमा बनेको चलचित्रमा पारस र दिव्यासहित सुशान्त कार्की, सरिता गिरी, विशाल पहारी, कर्मा लामा लगायतका कलाकारको अभिनय छ।

निर्माता अर्जुन पोखरेलले चलचित्रको बक्स अफिस कमाइबाट निर्माताको भागमा पर्ने रकमको ५ प्रतिशत भोटेकोशी क्षेत्रका बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा प्रदान गर्ने घोषणा गरेका छन्।