काठमाडौं । कुनै चलचित्रको नाम ‘पाँच पाण्डव’ हुँदैमा त्यसको कथा महाभारतमै आधारित हुनुपर्छ भन्ने छ र? अनि चलचित्रमा द्रौपदीको भूमिकामा देखिएकी कलाकारले अर्को गीतमा फरक शैलीमा नृत्य गर्दैमा त्यसलाई सोही पात्रसँग जोडेर हेर्न मिल्छ ? नेपाली चलचित्र ‘पाँच पाण्डव’को नयाँ गीत ‘राजा चाहिया छ’ सार्वजनिक भएसँगै अहिले यस्तै प्रश्न र बहस सामाजिक सञ्जालमा देखिन थालेका छन्।
शुक्रबार सार्वजनिक गीतमा एलिना चौहान, सुरेश लामा र ध्रुव बिकको स्वर रहेको छ। शशी शर्मा मजगैयाँको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको गीतमा क्यासिनोको परिवेश देखाइएको छ। घरजमका लागि उपयुक्त जीवनसाथी खोजिरहेकी युवतीको कथा प्रस्तुत गरिएको गीतमा इभा गिरीको आकर्षक तथा बोल्ड नृत्य देख्न सकिन्छ। उनको नृत्यमा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल र विनोद न्यौपानेले पनि साथ दिएका छन्।
गीत सार्वजनिक भएपछि इभाको नृत्य र उनको पात्रको परिचयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। यसअघि चलचित्रको ट्रेलरमा इभा गिरीलाई द्रौपदीको भूमिकामा प्रस्तुत गरिएको थियो। त्यसैले ‘राजा चाहिया छ’ गीतमा उनको फरक अवतार देखिएपछि केही दर्शकले द्रौपदीको पात्रसँग गीतलाई जोडेर प्रश्न उठाएका छन्। कतिपयले धार्मिक तथा पौराणिक पात्रको गरिमालाई ध्यान दिनुपर्ने धारणा राखेका छन् भने केहीले चलचित्रको सिर्जनात्मक स्वतन्त्रताको पक्षमा आफ्नो मत राखेका छन्।
तर निर्माण टिमले भने चलचित्रलाई महाभारतको कथाको प्रत्यक्ष प्रस्तुतिका रूपमा नबुझ्न आग्रह गरेको छ। ‘पाँच पाण्डव’ नाम राख्दैमा चलचित्र महाभारतकै कथा हुनुपर्छ भन्ने छैन। महाभारतका पात्र, चरित्र र विम्बलाई आधार बनाएर समकालीन नेपाली समाजका विषयवस्तु प्रस्तुत गर्नु चलचित्रको उद्देश्य रहेको निर्माण पक्षको भनाइ छ। त्यसैले गीतमा इभाले गरेको नृत्यलाई द्रौपदीको पात्रसँग जोडेर मात्रै हेर्नुभन्दा चलचित्रको समग्र कथा र परिवेश बुझ्नुपर्ने निर्माण टिमको आग्रह छ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ रहेकी छन्। चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरी मुख्य भूमिकामा छन्। त्यस्तै, दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेललगायत कलाकारको पनि अभिनय रहेको छ।
गीत सार्वजनिक भएसँगै उठेको बहसले ‘पाँच पाण्डव’प्रति दर्शकको चासो थप बढाएको छ। तर चलचित्रको वास्तविक कथा, उद्देश्य र सन्देश बुझ्न गीत वा केही दृश्य मात्रै पर्याप्त हुँदैनन्। महाभारतका विम्बमार्फत समकालीन नेपाली समाजको कस्तो कथा प्रस्तुत गरिएको छ भन्ने कुरा भने चलचित्र प्रदर्शनपछि नै स्पष्ट हुनेछ।

















प्रतिक्रिया