काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न निवर्तमान सभापति शेरबहादुर देउवासँग भेटेर कुरा गर्न चाहेको तर समय नपाएको बताएका छन्।
सोमबार बसेको पार्टी कार्यसम्पादन समिति बैठकमा थापाले आफूले देउवाका स्वकीय सचिव भानु देउवालाई फोन गरेर भेटका लागि समय मागे पनि भेट हुन नसकेको जानकारी गराएका हुन्।
‘म सबै पार्टीलाई मिलाएर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छु। त्यसका लागि निवर्तमान सभापतिसँग भेटेर कुरा गर्न चाहेको छु, तर समय पाएको छैन,’ थापाले भनेको बैठकमा सहभागी एक पदाधिकारीले बताए।
देउवासँग भेट हुन नसकेपछि थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग भेटेर पार्टीभित्रका मागबारे छलफल गरेका थिए।
बैठकले क्रियाशील सदस्यता डिजिटल अद्यावधिकसम्बन्धी विवादमा सर्तसहित महाधिवेशनमा सहभागी हुने बाटो खुलाउने निर्णय गरेको छ। यस्तै, आगामी असोज १६–१९ गतेका लागि तोकिएको कांग्रेसको १५औँ महाधिवेशन केन्द्रित तल्लो तहका अधिवेशनको कार्यतालिका परिमार्जन गर्ने जिम्मेवारी निर्वाचन समितिलाई दिइएको छ।



















प्रतिक्रिया