‘विपत्तिमा राजनीति होइन, नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता’ : ओली


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले विपत्तिको समयमा सत्ता पक्ष–प्रतिपक्ष नभनी नागरिकको जीवन रक्षा र उद्धारलाई पहिलो प्राथमिकता दिन सरकारसँग आग्रह गरेकी छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भोटेकोशी विपत्तिपछि उद्धार र राहतलाई तीव्र बनाउन तथा सुरुङभित्र फसेकाहरूको उद्धारमा उपलब्ध सबै प्रविधि, दक्ष जनशक्ति र सम्भावित उपाय तत्काल प्रयोग गर्न माग गरिन्।

अस्थायी आश्रयमा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीका लागि विशेष स्वास्थ्य टोली तथा आवश्यक औषधिको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

जलवायु परिवर्तनसँगै विपद् जोखिम बढिरहेको भन्दै ओलीले विपद् पूर्वतयारी, पूर्वसूचना, उद्धार र समन्वयमा भएका कमजोरी सुधार्दै जलवायु न्यायका लागि स्पष्ट योजना र तथ्यसहित अन्तर्राष्ट्रिय पहल गर्न सरकारलाई सुझाव दिइन्।