देउवालाई महाधिवेशनमा निम्तो, उद्घाटन गर्न गगनको आग्रह


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको बृहत्तर एकताका लागि आफू निरन्तर पहल गरिरहेको बताएका छन् । सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले १५औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाएर अघि बढाउनुपर्नेमा जोड दिए ।

सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवासहित पूर्वपदाधिकारीहरूलाई महाधिवेशन प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुन आग्रह गरे । उनले देउवालाई महाधिवेशन उद्घाटन समारोहमा उपस्थित हुनसमेत सार्वजनिक रूपमा आग्रह गरेका छन् ।

‘निवर्तमान सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्नुपर्छ भन्ने साथीहरूको भनाइ छ, मेरो पनि अनुरोध छ– महाधिवेशन उद्घाटनमा आउनुहोस्,’ थापाले भने ।

थापाले आफू पार्टीको विधान, संविधान र विधिबाट निर्देशित रहेको भन्दै निर्धारित समयमै महाधिवेशन सम्पन्न हुने बताए । कांग्रेसको कार्यतालिकाअनुसार असोज ३ र ४ गते वडा अधिवेशन तथा असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी छ । उनले देउवासँग मिलेर अधिवेशन सम्पन्न गर्न कुनै बाधा नरहेको भन्दै पार्टी एकताका लागि आफूले गर्नुपर्ने सबै काम गर्न तयार रहेको बताए ।