महाधिवेशनमा मेरो सहभागिता छैन, सर्वोच्चको फैसला शीघ्र होस् : पूर्णबहादुर खड्का


काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा भइरहेको महाधिवेशन प्रक्रियामा आफ्नो कुनै सहभागिता नरहेको र नरहने स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले विशेष महाधिवेशन तथा त्यसबाट निर्वाचित सभापति र कार्यसमितिको वैधानिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा आफू महाधिवेशनमा सहभागी हुनु नैतिक रूपमा उचित नहुने आफ्नो विश्वास रहेको बताएका छन्।

खड्काका अनुसार गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समेत यही कारण आफू उम्मेदवार नबनेका हुन्। गगन थापाको हस्ताक्षरबाट प्राप्त टिकट लिएर निर्वाचनमा उम्मेदवार बन्नु आफूहरूले उठाएको कानुनी दाबीविपरीत हुने ठानेका कारण आफू चुनावमा उम्मेदवार नबनेको उनले उल्लेख गरेका छन्।

विशेष महाधिवेशन र त्यसबाट निर्वाचित नेतृत्वको वैधानिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको डिभिजन बेन्चबाट आफूहरूको दाबीविपरीत निर्णय आएपछि पुनरावलोकनका लागि सर्वोच्च अदालत गएको उनले बताएका छन्। पूर्ण इजलासले निर्वाचन आयोगले अपनाएको प्रक्रिया तथा डिभिजन बेन्चको निर्णयमा त्रुटि देखाउँदै पुनरावलोकनका लागि निस्सा दिएको र उक्त मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको खड्काको भनाइ छ।

यही अवस्थामा गगन थापाको नेतृत्वमा कांग्रेसको महाधिवेशन प्रक्रिया अघि बढेपछि पुनरावलोकनको मुद्दाको अन्तिम टुंगो नलागेसम्म महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै आफूहरूले सर्वोच्च अदालतमा निवेदन दिएको उनले बताएका छन्।

तर, सर्वोच्च अदालतले महाधिवेशन रोक्न आवश्यक नदेखिएको भन्दै रिट जारी नगरेपछि नेपाली कांग्रेसको नाममा अलग–अलग दुईवटा महाधिवेशन हुने अवस्था सिर्जना भएको खड्काले दाबी गरेका छन्।

उनले अब कुनै चमत्कार नभए नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था देखिएको उल्लेख गर्दै सम्भावित पार्टी विभाजन रोक्न आफूहरू अन्तिम प्रयासमा रहेको बताएका छन्।

खड्काले कांग्रेस विभाजित भए त्यसको असर कांग्रेसजनमा मात्र सीमित नरहने उल्लेख गर्दै नेपालको लोकतन्त्र र राजनीतिक परिवर्तनका आन्दोलनमा समेत बहुआयामिक प्रभाव पर्न सक्ने बताएका छन्।

यसै सन्दर्भमा उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्यायाधीशहरूसँग विचाराधीन पुनरावलोकनको मुद्दाको गम्भीरता मूल्यांकन गर्दै सम्भव भए अग्राधिकार प्रदान गरी यथाशीघ्र अन्तिम फैसला गरिदिन आग्रह गरेका छन्।

सर्वोच्च अदालतबाट हुने अन्तिम फैसला आफूहरूलाई स्वीकार्य हुने स्पष्ट पार्दै खड्काले न्यायालयप्रति आफ्नो आस्था र विश्वास कायम रहेको पनि बताएका छन्।

Scree