एमालेले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने तयारी


काठमाडौँ । नेकपा एमालेको १५ सदस्यीय कार्यदलले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउन पार्टीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको कार्यदल बैठकपछि सचिव महेश बस्नेतले परिषद् बैठक बोलाउने विषयमा पार्टीलाई सुझाव दिने सर्वसम्मत निर्णय भएको जानकारी दिए । महासचिव शङ्कर पोखरेल र कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ले तयार पारेका मस्यौदालाई एकीकृत गरी सचिवालयमा पेस गर्ने सहमति भएको उनले बताए ।

बस्नेतका अनुसार एमालेले विशेष महाधिवेशन नगर्ने र नियमित विधान महाधिवेशनको विषयमा छलफल अघि बढाउने प्रस्ताव प्रतिवेदनमा समेटिनेछ । कार्यदलमा आएका विभिन्न सुझावलाई समेटेर तीन नेताले साझा प्रतिवेदन तयार गर्ने सहमति भएको उनले बताए ।

७० वर्षे उमेर हद र दुई कार्यकालको विषय पनि भविष्यमा एजेन्डा बन्न सक्ने तर त्यसको टुंगो नियमित विधान महाधिवेशनबाटै लगाउने विषयमा छलफल भएको बस्नेतले जानकारी दिए ।