पाल्पामा दुर्घटनामा पर्यो फोर्स गाडी, ६ जना घाइते


बुटवल । पाल्पाको तानसेन नगरपालिका–८ भालेबासमा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

बुटवलबाट तानसेनतर्फ जाँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी सिद्धार्थ राजमार्गअन्तर्गत भालेबासमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक पूर्वखोला गाउँपालिका–१ का २९ वर्षीय नरबहादुर रानासहित ६ जना घाइते भएका छन् । रानाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये पूर्वखोला–१ का ५० वर्षीय कृष्णबहादुर राजमगर सामान्य, पूर्वखोला–४ की २८ वर्षीया मनकुमारी सारु र उनकी ७ वर्षीया छोरी साहिरस सारु मध्यम घाइते भएका छन् ।

त्यस्तै पूर्वखोला–४ की ६३ वर्षीया अनसरा खाम्चा गम्भीर र उनकी ५ वर्षीया नातिनी सायरा खाम्चा मध्यम घाइते भएकी छन् । सबै घाइतेलाई उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।