काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध जनतामाझ फैलाइएका भ्रम र कुप्रचारको प्रतिवाद गर्दै अघि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।
सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले विरोधीहरूले फैलाएका प्रचारको पछि लागेर पार्टीकै गतिविधिलाई कमजोर बनाउने काम गर्न नहुने बताए । जनतामा पार्टीप्रति केही भ्रम र अन्योल सिर्जना भएको उल्लेख गर्दै उनले त्यसलाई तथ्य र राजनीतिक रूपमा चिर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
ओलीले पार्टीभित्रका असन्तुष्टि र बहसलाई सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा लैजान नहुने बताए । कमिटीभित्र हुने बहसलाई बाहिर सार्वजनिक गरेर पार्टीको प्रतिष्ठामा असर पार्ने गतिविधिप्रति उनले असन्तुष्टि जनाए ।
महाधिवेशनबाट पार्टीको नीति, विचार र नेतृत्व लोकतान्त्रिक प्रक्रियाबाट तय भइसकेको उल्लेख गर्दै ओलीले त्यसविपरीत अराजक गतिविधि गर्न नहुने बताए । सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिने तथा पार्टीको आन्तरिक विषयलाई सार्वजनिक गर्ने प्रवृत्तिले विपक्षीलाई फाइदा पुग्ने उनको भनाइ थियो ।
बैठकमा ओलीले वर्तमान सरकारको कार्यशैलीप्रति पनि आलोचना गरे । उनले सरकार असफल र अक्षम भएको आरोप लगाउँदै बाढीपहिरोजस्ता विपद्का समयमा प्रभावकारी काम गर्न नसकेको दाबी गरे । विपद्का बेला बेलीब्रिज निर्माणसम्बन्धी एआईबाट तयार गरिएका सामग्री सार्वजनिक गरेर राज्यस्तरबाटै भ्रम फैलाइएको उनको आरोप थियो ।
देश, लोकतन्त्र र संविधानमाथि चुनौती बढिरहेको दाबी गर्दै ओलीले एमालेमाथि पनि विभिन्न कोणबाट प्रहार भइरहेको बताए । नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने, हिरासतमा राख्ने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने गतिविधि भइरहेको आरोप लगाउँदै उनले यसलाई अधिनायकवादतर्फको संकेतका रूपमा व्याख्या गरे ।
उनले प्रतिकूल राजनीतिक परिस्थितिको सामना गर्न पार्टी एकताबद्ध, अनुशासित र संगठित भएर अघि बढ्नुपर्ने बताए । साथै, केन्द्रीय कमिटी बैठकमा खटिएका स्वयंसेवकहरूलाई निष्पक्ष र तटस्थ भएर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए ।



















प्रतिक्रिया