अध्यक्ष हटाउनुपर्छ भन्दै हिँड्ने को न्यायाधीश हो ?’ ओलीको कटाक्ष


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वविरुद्ध सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्ने नेताहरूप्रति आपत्ति जनाएका छन् ।

सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्रका असहमति र बहस कमिटीको बैठकमै राख्नुपर्ने बताए । नेतृत्व परिवर्तनको माग गर्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिनेहरूप्रति कटाक्ष गर्दै उनले ‘अध्यक्ष हटाउनुपर्छ’ वा ‘असान्दर्भिक भयो’ भन्ने निर्णय गर्ने उनीहरू कुन हैसियतका न्यायाधीश हुन् भन्दै प्रश्न गरे ।

पार्टीभित्रै छलफल र राय राख्ने बाटो हुँदाहुँदै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत आन्तरिक विषय सार्वजनिक गर्दा पार्टीको प्रतिष्ठामा असर पर्ने ओलीको भनाइ थियो । यस्ता गतिविधिले विपक्षीलाई समेत फाइदा पुग्ने भन्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई अनुशासन पालना गर्न आग्रह गरे ।

ओलीले सामाजिक सञ्जालमा नेतृत्वलाई लक्षित गरी अशोभनीय र आपत्तिजनक टिप्पणी गर्ने प्रवृत्तिप्रति समेत असन्तुष्टि जनाए । केही नेताका पछिल्ला अभिव्यक्तितर्फ संकेत गर्दै उनले सामाजिक सञ्जालमा विवादास्पद स्ट्याटस लेख्ने र त्यसलाई थप उत्तेजित बनाउने प्रतिक्रियालाई प्रोत्साहन गर्ने काम पार्टीका लागि स्वस्थ नभएको बताए ।

एमालेको महाधिवेशनले लोकतान्त्रिक विधिबाट पार्टीको नीति, विधान र नेतृत्व चयन गरिसकेको उल्लेख गर्दै ओलीले पार्टीभित्र अराजकता स्वीकार्य नहुने स्पष्ट पारे । विचारमा मतभेद भए पनि संगठनात्मक रूपमा एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको जोड थियो ।

सम्बोधनका क्रममा ओलीले वर्तमान राजनीतिक अवस्थाबारे पनि धारणा राखे । एमालेमाथि विभिन्न कोणबाट आक्रमण भइरहेको दाबी गर्दै उनले लोकतन्त्र, संविधान र राष्ट्रियताको पक्षमा पार्टी दृढ भएर उभिनुपर्ने बताए । नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तथा हिरासतमा राख्ने काम भइरहेको आरोप लगाउँदै उनले प्रतिकूल परिस्थितिमा पार्टीभित्र अनुशासन झनै आवश्यक रहेको बताए ।

जनतामाझ एमालेविरुद्ध विभिन्न भ्रम फैलाइएको उल्लेख गर्दै ओलीले त्यस्ता भ्रम चिर्दै जनस्तरमा पार्टीको धारणा स्पष्ट रूपमा पुर्‍याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।