काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतका अनुसन्धान निकायलाई स्थानीय आवश्यकता र किसानका समस्यामा केन्द्रित भएर काम गर्न संसदीय समितिले निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकले नार्कको अनुसन्धान प्रणालीलाई परिणाममुखी बनाउन तथा अनुसन्धानबाट प्राप्त उपलब्धि किसानको खेतसम्म पुर्याउने गरी काम गर्न सरकारलाई निर्देशन दिएको हो ।
बैठकमा नार्कअन्तर्गतका अनुसन्धान निकायको प्राथमिकता, जनशक्ति व्यवस्थापन, पूर्वाधार तथा बजेट परिचालनलगायत विषयमा छलफल भएको थियो । समितिका सभापति अशोककुमार चौधरीले अनुसन्धानबाट प्राप्त नतिजाको प्रभावकारी उपयोग र प्रविधि हस्तान्तरणलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
क्षेत्रीय निर्देशकहरूबाट प्राप्त सुझाव तथा स्थलगत अनुसन्धानबाट देखिएका निष्कर्षका आधारमा कृषि अनुसन्धान प्रणालीलाई पुनर्संरचना गर्ने तयारी भइरहेको सभापति चौधरीले जानकारी दिए । अनुसन्धान कागजी प्रक्रियामा मात्र सीमित नभई किसानका वास्तविक आवश्यकता सम्बोधन गर्ने खालको हुनुपर्ने उनको भनाइ छ ।
बैठकमा सहभागी सांसदहरूले विभिन्न अनुसन्धान निकायबीच पर्याप्त समन्वय नहुँदा अनुसन्धानले अपेक्षित गति लिन नसकेको बताए । उनीहरूले उपलब्ध स्रोतसाधनको प्रभावकारी परिचालन, जनशक्तिको क्षमता विकास तथा अनुसन्धानको दायरा विस्तारमा जोड दिए ।
समितिले स्थानीय तहमा देखिएका कृषि समस्या पहिचान गरी समाधानमुखी अनुसन्धान अघि बढाउन नार्कलाई निर्देशन दिएको छ । साथै अनुसन्धानको नतिजा किसानसम्म पुर्याउन आवश्यक नीतिगत पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।



















प्रतिक्रिया