काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले सिंहदरबारस्थित संसद् सचिवालयको क्यान्टिनमा राखिएको महँगो मूल्यसूचीप्रति प्रश्न उठाएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनारले क्यान्टिनमा कालो चियाको १०० रुपैयाँ र ममको ३०० रुपैयाँसम्म मूल्य तोकिएको भन्दै आपत्ति जनाए। उनले यस्तो मूल्यले सांसदसँगै संसद् सचिवालयका कर्मचारी र मर्यादापालकलाई समेत आर्थिक भार पर्ने बताए।
‘सांसदहरूले नै त्यहाँ खाजा खान नसक्ने अवस्था छ भने सीमित तलबमा काम गर्ने कर्मचारी र मर्यादापालकले कसरी महँगो मूल्य तिर्न सक्छन् ?’ भन्दै उनले संसद् सचिवालयसँग प्रश्न गरे।
सुनारले सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमा मूल्यमा एकरूपता कायम गर्नुपर्ने र कर्मचारी तथा सांसदको आर्थिक अवस्थालाई ध्यानमा राखेर दर निर्धारण गर्नुपर्ने बताए।
उनले दैलेख, अछामलगायत जिल्लामा प्रचलित दररेटअनुसार चिया–खाजा उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गर्दै सिंहदरबारभित्र रहेका क्यान्टिनको संख्या र मूल्य निर्धारण प्रणालीबारे समेत पुनर्विचार गर्न संसद् सचिवालयको ध्यानाकर्षण गराए।


















प्रतिक्रिया