काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले पुराना तथा कालो धुवाँ फाल्ने सवारीसाधनका कारण बढिरहेको वायु प्रदूषण नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै तामाङले सडकमा गुड्ने पुराना सवारीसाधनको अवस्था र तिनबाट निस्कने धुवाँबारे सरकारले प्रभावकारी अनुगमन नगरेको बताइन्। उनका अनुसार सडकमा गुड्ने केही सवारीसाधनबाट निस्कने कालो धुवाँका कारण सर्वसाधारणले प्रदूषणको समस्या भोगिरहेका छन्।
तामाङले आफूले तीन महिनाअघि नै पूर्वाधार विकास मन्त्रालयमा यस विषयमा प्रश्न उठाएको स्मरण गराउँदै त्यतिबेला कालो धुवाँ फाल्ने सवारीसाधनलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रतिबद्धता जनाइएको भए पनि कार्यान्वयन प्रभावकारी नभएको बताइन्।
उनले नियम बनाउने तर कार्यान्वयन नगर्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै पुराना सवारीसाधन विस्थापनका लागि सरकारसँग पर्याप्त साधन नभएको भन्ने जवाफलाई स्वीकार गर्न नसकिने बताइन्।
‘नियम बनाउने तर कार्यान्वयन नगर्ने परिपाटीले जनता आजित भइसकेका छन्,’ उनले भनिन्, ‘पुराना गाडी विस्थापन गर्न सरकारसँग पर्याप्त साधन छैन भन्ने जवाफ बहाना मात्र हो।’
सांसद तामाङले वायु प्रदूषण नियन्त्रणका लागि पुराना तथा प्रदूषण फैलाउने सवारीसाधनको प्रभावकारी अनुगमन गरी आवश्यक कारबाही गर्न र पुराना सवारीसाधन विस्थापनको प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरिन्।



















प्रतिक्रिया