काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले विश्व अझै अर्को महामारीको सामना गर्न पर्याप्त रूपमा तयार नरहेको बताएका छन्।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहअघि सामाजिक सञ्जाल एक्समार्फत सोमबार सन्देश दिँदै टेड्रोसले महामारी रोकथाम, पूर्वतयारी र प्रतिकार्यका लागि विश्व नेताहरूले आफ्ना प्रतिबद्धता व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका हुन्।
उनले महामारीको जोखिमलाई मध्यनजर गर्दै विश्वले आफ्नो तयारीलाई थप मजबुत बनाउनुपर्ने बताए। महामारी सम्झौताअन्तर्गत रोगजनकमा पहुँच तथा त्यसबाट प्राप्त लाभ बाँडफाँटसम्बन्धी अनुसूची पूरा गर्न पनि उनले आग्रह गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको महासभाको उच्चस्तरीय सप्ताहअन्तर्गत सेप्टेम्बर २२ देखि २८ सम्म आमबहस हुँदैछ। ८१औँ महासभाको सत्रको विषय ‘विश्वास पुनःस्थापना, रूपान्तरण व्यवस्थापन : सबैका लागि उपलब्धि सुनिश्चित गर्ने संयुक्त राष्ट्रसङ्घ’ तय गरिएको छ। सत्रको अध्यक्षता बङ्गलादेशका खलिलुर रहमानले गरिरहेका छन्।
उच्चस्तरीय सप्ताहमा महामारीका साथै विश्वव्यापी द्वन्द्व, विकास, जलवायु परिवर्तन र मानवीय चुनौतीबारे छलफल हुनेछ। सेप्टेम्बर २५ मा महामारी रोकथाम, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी उच्चस्तरीय बैठकसमेत आयोजना हुँदैछ।


















प्रतिक्रिया