फागुनको चुनावी पराजयबारे ओलीले भने– नैतिक जिम्मेवारी मेरो


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत फागुनमा भएको निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित पराजयको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन्। तर, पराजयकै कारण नेतृत्वबाट पछि हट्ने वा मैदान छाड्ने पक्षमा आफू नरहेको उनले स्पष्ट पारेका छन्।

सोमबार ललितपुरमा सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले संकटका बेला नेतृत्वले पार्टीलाई अलपत्र पार्न नहुने बताए। उनले बिरामी देखेर चिकित्सकले अस्पताल र बालीमा रोग लाग्दा किसानले खेत नछाडेजस्तै कठिन परिस्थितिमा नेतृत्वले जिम्मेवारीबाट भाग्न नमिल्ने तर्क गरे।

निर्वाचन परिणामले पार्टीलाई गम्भीर आघात पुगेको स्वीकार गर्दै ओलीले पराजयपछि एकअर्कामाथि दोषारोपण गर्ने वा निराश हुने दुवै बाटो गलत भएको बताए। उनले कठोर आत्मसमीक्षा, तथ्यगत प्रतिवाद र साङ्गठनिक पुनर्निर्माणमार्फत पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिए।

प्रतिवेदनमा ओलीले पार्टी नेतृत्व परिवर्तन, पुनर्गठन तथा पुस्तान्तरणका नाममा उठेका मागको पनि प्रतिवाद गरेका छन्। उमेर कम हुँदैमा स्वतः योग्यता र बढी हुँदैमा अयोग्यता नहुने उल्लेख गर्दै उनले अनुभव र ऊर्जाको संयोजनबाट नेतृत्व अघि बढ्नुपर्ने बताए।

ओलीले पछिल्लो राजनीतिक घटनाक्रम, विशेषगरी भदौ २३ र २४ गतेको आन्दोलनबारे आफ्नो धारणा पनि प्रतिवेदनमा समेटेका छन्। उनले आन्दोलनका क्रममा हिंसात्मक गतिविधि भएको र त्यसलाई बाह्य प्रायोजन तथा भूराजनीतिक स्वार्थसँग जोडेर दाबी गरेका छन्। साथै, घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताउँदै आफू कानुनभन्दा माथि नरहेको स्पष्ट पारेका छन्।

उनले एमालेका लागि संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा तथा आगामी स्थानीय तहलगायतका निर्वाचनको तयारीलाई प्रमुख कार्यभारका रूपमा अघि सारेका छन्। जनतामाझ पार्टीको धारणा पुर्‍याउने, जनहितकेन्द्रित प्रतिपक्षको भूमिका प्रभावकारी बनाउने, डिजिटल पुनर्निर्माण गर्ने र ज्ञानमा आधारित पार्टी निर्माण गर्नेसहित १५ वटा कामको खाका पनि प्रतिवेदनमा प्रस्तुत गरिएको छ।

पराजयबाट निराश नभई त्यसलाई सिकाइमा रूपान्तरण गर्दै पार्टी पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै ओलीले एमाले कमजोर भए पनि समाप्त नभएको दाबी गरेका छन्।