काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौमा भएको जेनजी आन्दोलन र त्यसपछिका हिंसात्मक घटनाले नेपालको लोकतान्त्रिक संस्कारमा दीर्घकालीन असर पारेको दाबी गरेका छन्।
सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले भदौ २३ र २४ गतेका घटनालाई सरकार परिवर्तनको घटनाका रूपमा मात्र बुझ्न नहुने उल्लेख गर्दै त्यसका नौ वटा नकारात्मक प्रभाव औँल्याएका छन्।
ओलीका अनुसार सडकको हिंसाबाट सत्ता परिवर्तन हुने अभ्यासले विधिको शासनभन्दा भीडको शक्ति प्रभावकारी हुने गलत सन्देश दिएको छ। साथै, संवैधानिक असहमतिलाई संवादबाट समाधान गर्ने संस्कृतिको सट्टा हिंसात्मक शैली हाबी हुने जोखिम बढेको उनको भनाइ छ। उनले राजनीतिक दलको संस्थागत भूमिका कमजोर पार्दा लोकतन्त्रसमेत कमजोर हुने तर्क गरेका छन्।
राज्य संयन्त्रमा समेत घटनाको असर परेको उल्लेख गर्दै ओलीले हिंसा र अराजकताका कारण निजामती कर्मचारी तथा सुरक्षा निकायको मनोबलमा प्रभाव परेको बताएका छन्। त्यस्तै, न्यायालयमाथि सडक वा भीडको दबाब बढ्ने जोखिम देखिएको भन्दै न्याय संविधान, प्रमाण र कानुनका आधारमा चल्नुपर्ने धारणा राखेका छन्।
निर्वाचनबाट बनेको सरकारलाई सडकको हिंसात्मक दबाबबाट हटाउन सकिने नजिरले भविष्यमा निर्वाचन र जनमतको महत्त्व घटाउन सक्ने उनको विश्लेषण छ। नागरिक स्वतन्त्रता, पत्रकारिता तथा अभिव्यक्तिको अधिकारसमेत भीडको दबाबबाट जोखिममा पर्न सक्ने उनले बताएका छन्।
ओलीले आन्तरिक अस्थिरताले बाह्य शक्तिको हस्तक्षेपका लागि अवसर सिर्जना गर्न सक्ने तथा राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र संवादको संस्कृति कमजोर भएको पनि प्रतिवेदनमा उल्लेख गरेका छन्। युवाका जायज माग सम्बोधन गर्दै लोकतान्त्रिक संस्था र संवैधानिक प्रक्रियाको रक्षा गर्नुपर्ने उनको निष्कर्ष छ।



















प्रतिक्रिया