स्वास्थ्य सेवा र तथ्याङ्क व्यवस्थापनमा उत्कृष्ट किष्ट शिक्षण अस्पताल सम्मानित


ललितपुर । जनस्वास्थ्य कार्यालय ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा समीक्षा कार्यक्रममा किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल निजी अस्पतालतर्फ प्रथम भएको छ।

कार्यक्रममा ललितपुरका १५ निजी अस्पताल सहभागी थिए। वर्षभरि अस्पतालहरूले प्रवाह गरेका स्वास्थ्य सेवाको तथ्यांक प्रस्तुत गर्दै विभिन्न स्वास्थ्य सेवा सूचकका आधारमा सेवा प्रवाह र कार्यसम्पादनको समीक्षा गरिएको थियो।

समीक्षाका क्रममा निर्धारित स्वास्थ्य सेवा सूचक, तथ्यांक व्यवस्थापन तथा सेवा प्रवाहको मूल्यांकन गर्दा किष्ट शिक्षण अस्पतालले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको हो।

उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै जनस्वास्थ्य कार्यालय ललितपुरले अस्पताललाई प्रशंसापत्र प्रदान गरेको छ। अस्पतालले उक्त सम्मानलाई गुणस्तरीय स्वास्थ्य सेवा, प्रभावकारी व्यवस्थापन तथा तथ्यमा आधारित सेवा प्रणालीप्रतिको आफ्नो प्रयासको मान्यताका रूपमा लिएको जनाएको छ।

ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले सन् २००६ देखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। अस्पतालका अनुसार यहाँ जटिल तथा गम्भीर स्वास्थ्य अवस्थाका बिरामीका लागि विशेषज्ञ चिकित्सकीय सेवा, आधुनिक प्रविधि तथा उपचार सुविधा उपलब्ध छन्।