काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भोटेकोशी बाढीको घटनालाई नेपालको जलवायु कूटनीतिको ‘टर्निङ पोइन्ट’ बनाउनुपर्ने बताएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री बालेन शाहलाई विश्व मञ्चमा नेपालको जलवायु संकट र भोटेकोशी बाढीबाट भएको क्षतिलाई प्रभावकारी ढङ्गले प्रस्तुत गर्न शर्माले सात सुझाव दिएका छन् ।
शर्माले जलवायुजन्य क्षति र नोक्सानीका लागि नेपालले न्यायोचित अन्तर्राष्ट्रिय वित्तीय सहयोगको बलियो दाबी गर्नुपर्ने बताएका छन् । त्यसका लागि तथ्य, प्रमाण र विश्लेषणसहितको दाबी अघि बढाउनुपर्ने उनको सुझाव छ ।
त्यस्तै, पेरिस सम्झौताअनुसार उत्सर्जन घटाउने तथा जलवायु अनुकूलनका लागि तय गरिएका राष्ट्रिय लक्ष्यको प्रगति समीक्षा गर्दै विश्व समुदायको ध्यानाकर्षण गराउनुपर्ने उनले बताएका छन् ।
शर्माले कार्बन उत्सर्जन कम गर्ने साना राष्ट्रहरूको विश्वव्यापी मञ्च ‘Small Nations for Climate Action (SNCA)’ निर्माणको पहल नेपालले गर्नुपर्ने प्रस्तावसमेत अघि सारेका छन् ।
उनले भोटेकोशीमा भएको मानवीय तथा भौतिक क्षतिको विषयलाई अमेरिका, युरोप, मध्यपूर्व, चीन र भारतलगायत जलवायुजन्य विपद्को असर भोगेका मुलुकसँग जोडेर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुपर्ने बताएका छन् ।
नेपाल, भारत र चीनमा रहेका जोखिमयुक्त हिमतालका कारण भविष्यमा अझ ठूला विपद् निम्तिन सक्ने भन्दै उनले हिमाली क्षेत्रमा पूर्वतयारी र जलवायु अनुकूलनमा अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्नेमा जोड दिएका छन् ।
शर्माले जलवायुजन्य विपद्का कारण हुने **‘सम्भावनाको क्षति’**लाई समेत क्षति तथा नोक्सानीको मूल्याङ्कनमा समेट्नुपर्ने बताएका छन् । भोटेकोशीका विद्युत् आयोजना र पूर्वाधारमा भएको क्षतिले भविष्यमा हुन सक्ने आर्थिक लाभसमेत प्रभावित हुने भएकाले त्यसतर्फ अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउनुपर्ने उनको सुझाव छ ।
उनले संयुक्त राष्ट्रसंघको महासभा तथा आगामी COP-31 मा भोटेकोशी बाढीबाट प्रभावित परिवार, मानवीय क्षति, बेपत्ता नागरिक र अर्बौँको भौतिक क्षतिको विषय गम्भीरतापूर्वक उठाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।



















प्रतिक्रिया