काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा पछिल्ला वर्षहरूमा देखिएका विपद्का घटनाले जलवायु सङ्कटको जोखिम अझ गम्भीर बन्दै गएको पुष्टि गरेको बताएका छन्।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गुटेरेसले तापक्रम वृद्धिका कारण नेपालसहित हिमाली मुलुकहरू जलवायु परिवर्तनको प्रत्यक्ष असरमा परेको बताए। हिमनदी पग्लिने क्रम तीव्र हुँदै गए विश्वले आगामी दिनमा अझ ठूलो संकट सामना गर्नुपर्ने उनको चेतावनी छ।
गुटेरेसले तीन वर्षअघि नेपाल भ्रमणका क्रममा हिमनदी तीव्र गतिमा पग्लिरहेको विषयमा विश्व समुदायलाई सचेत गराएको स्मरण गरे। नेपालमा देखिएका भोटेकोशी बाढीजस्ता विपद्ले त्यतिबेला दिइएको चेतावनीलाई थप गम्भीर बनाएको उनको भनाइ छ।
‘तीन वर्षअघि नेपालको हिमालबाट मैले विश्वको छाना भत्किँदै गएको चेतावनी दिएको थिएँ,’ उनले भने, ‘त्यतिबेलाको चेतावनीलाई अतिरञ्जित ठान्नेहरू भए पनि पछिल्ला घटनाले जलवायु परिवर्तनका असर अनुमान गरिएभन्दा छिटो, गम्भीर र व्यापक रूपमा देखिन थालेको पुष्टि गरेको छ।’
महासचिव गुटेरेसले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम अब भविष्यको विषय मात्र नभई वर्तमानको वास्तविकता बनिसकेको बताए। विश्वव्यापी कार्बन उत्सर्जनमा तुलनात्मक रूपमा न्यून योगदान गर्ने नेपालजस्ता मुलुकले भने जलवायु परिवर्तनको ठूलो मूल्य चुकाइरहेको उनले उल्लेख गरे।
उनले जलवायु न्यायको आवश्यकता औँल्याउँदै बढी प्रदूषण गर्ने मुलुकले जलवायु परिवर्तनबाट सिर्जित क्षतिको जिम्मेवारी लिनुपर्ने धारणा राखे। जलवायुजन्य विपद्बाट प्रभावित तथा जोखिममा रहेका मुलुकलाई क्षति सम्बोधनका लागि पर्याप्त वित्तीय सहयोग उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए।
गुटेरेसले जलवायु परिवर्तनका कारण हुने हानि तथा क्षति सम्बोधन गर्न स्थापना गरिएको कोषमा पर्याप्त रकम नरहेको बताए। विकसित मुलुकहरूले जलवायु वित्तसम्बन्धी गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने उनको आग्रह छ।
‘विकसित मुलुकहरूलाई जलवायु वित्तसम्बन्धी आफूले गरेको प्रतिबद्धता पूरा गर्न आग्रह गर्दछु,’ उनले भने, ‘जलवायु अनुकूलन वित्तलाई तीन गुणा वृद्धि गर्न र हानि तथा क्षति कोषमा थप स्रोत परिचालन गर्न आह्वान गर्दछु।’
गुटेरेसले जलवायु सङ्कटको असर कम गर्न विश्वव्यापी रूपमा उत्सर्जन न्यूनीकरण, जलवायु अनुकूलन र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा थप लगानी आवश्यक रहेको बताए।
उनका अनुसार जलवायु परिवर्तनको असर सबै मुलुकले समान रूपमा भोगिरहेका छैनन्। कम उत्सर्जन गर्ने तर जलवायु परिवर्तनको जोखिम उच्च रहेका हिमाली तथा विकासशील मुलुकहरू बढी प्रभावित भइरहेकाले अन्तर्राष्ट्रिय समुदायले जलवायु न्यायलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ।
नेपालका हिमनदी तीव्र गतिमा पग्लिनु, हिमाली क्षेत्रमा जोखिम बढ्नु तथा बाढी, पहिरो लगायतका विपद्का घटना बढ्दै जानुले जलवायु परिवर्तनको असरबारे थप गम्भीर हुनुपर्ने सन्देश दिएको गुटेरेसको भनाइ छ।



















प्रतिक्रिया