काठमाडौँ । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले प्रधानमन्त्री बालेन शाहले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै बुधबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले असोज ९ देखि ११ गतेसम्म देशभर प्रतिकूल मौसम रहने बताएका हुन्।
पूर्वानुमानअनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक–दुई स्थानमा भीषण वर्षा हुनसक्ने सम्भावना छ। कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।
भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा सडक र हवाई यातायात प्रभावित हुनसक्ने भन्दै प्रधानमन्त्रीले जोखिमयुक्त क्षेत्रका नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। उनले वर्षाका बेला तथा रातिको समयमा राजमार्गमा अनावश्यक यात्रा नगर्न र नदी–खोला किनार तथा पहिरोको जोखिम भएका क्षेत्रमा सतर्क रहन भनेका छन्।
त्यस्तै, ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजनामा रहेकाहरूलाई मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न आग्रह गरिएको छ। मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने पूर्वसूचना नियमित हेर्न र सम्बन्धित निकायका निर्देशन पालना गर्न पनि प्रधानमन्त्रीले अनुरोध गरेका छन्।
सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सरकारी तथा सुरक्षा निकायलाई आवश्यक पूर्वतयारी, समन्वय र पूर्वसतर्कताका उपाय अपनाउन निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताएका छन्। प्रधानमन्त्री शाह हाल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन विदेशमा छन्।



















प्रतिक्रिया