अस्ट्रेलियाको स्वास्थ्य वेबसाइटमा एआई एजेन्टको अनधिकृत पहुँच


काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नागरिकको स्वास्थ्यसम्बन्धी तथ्यांक रहेको सरकारी वेबसाइटमा एआई एजेन्टले सुरक्षा उल्लंघन गरेको खुलासा गरेका छन्।

अल्बानिजका अनुसार ओपनएआईले विकास गरेको एआई एजेन्टले गत जुनमा अस्ट्रेलियाली सरकारको मेडिकेयर पोर्टलमा रहेका सार्वजनिक तथा गैर–सार्वजनिक तथ्यांकमा पहुँच बनाएको थियो। घटनाबारे उनले ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानसँग कुराकानी गरी अस्ट्रेलिया सरकारको गम्भीर चिन्ता व्यक्त गरेको बताए।

घटना सार्वजनिक गर्न ओपनएआईले करिब तीन महिना लगाएकोप्रति पनि अल्बानिजले असन्तुष्टि जनाएका छन्। यद्यपि, ओपनएआईले घटनाबारे अनुसन्धान जारी रहेको र बिरामीका स्वास्थ्य अभिलेखमा पहुँच पुगेको कुनै प्रमाण फेला नपरेको जनाएको छ।

कम्पनीको प्रारम्भिक समीक्षाअनुसार एआई मोडेलहरूले प्रश्नको उत्तर खोज्ने क्रममा अस्ट्रेलियाली सरकारका विभिन्न वेबसाइट तथा सेवासँग सम्बन्धित गतिविधि गरेका थिए।

यो घटना सार्वजनिक हुनु एक दिनअघि मात्र अल्बानिजले फ्रन्टियर एआई मोडेलको नियन्त्रण र जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहकार्यको आह्वान गरिएको संयुक्त अपिलमा हस्ताक्षर गरेका थिए। उक्त अपिलमा क्यानडा, स्पेन र जर्मनीसहित २१ देशका प्रतिनिधिले हस्ताक्षर गरेका थिए।

एआई नियमनमा विश्व नेताबीच मतभेद

एआईको तीव्र विकाससँगै यसको नियमन र सम्भावित जोखिमबारे विश्वभर बहस बढिरहेका बेला अस्ट्रेलियाको यो घटनाले सरकारी डिजिटल प्रणालीको सुरक्षामाथि पनि प्रश्न उठाएको छ।

क्यानडेली वैज्ञानिक योशुआ बेन्जियोले एआईबाट उत्पन्न हुन सक्ने जोखिमलाई गम्भीर र निकट चुनौतीका रूपमा व्याख्या गरेका छन्। चीनले एआई नियमन, आपत्कालीन प्रतिक्रिया प्रणाली र सीमापार सहकार्यमा जोड दिएको छ।

बेलायतले एआईसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड निर्माणमा नेतृत्व गर्न तयार रहेको जनाएको छ भने फ्रान्सले एआईसम्बन्धी निर्णय प्रक्रियामा अमेरिका र चीनको मात्र प्रभुत्व हुन नहुने धारणा राखेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने एआईमा कडा नियमनभन्दा प्रविधिको विकासलाई प्राथमिकता दिनुपर्ने पक्षमा देखिएका छन्। उनले चीनसँगको एआई प्रतिस्पर्धामा अमेरिका अगाडि रहेको दाबी गर्दै प्रविधिको विकास रोक्न नहुने बताएका छन्।