एजेन्सी । लगातारको भारी वर्षापछि थाइल्यान्डको राजधानी बैंककमा व्यापक बाढी आएको छ। बाढीका कारण घर तथा सडक जलमग्न हुनुका साथै हजारौँ नागरिक विस्थापित भएका छन्।
बैंकक महानगर प्रशासनका अनुसार करिब ४ हजार ९ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ भने ५२ हजारभन्दा बढी घरपरिवार बाढीबाट प्रभावित भएका छन्। प्रभावित राजधानीका विभिन्न क्षेत्रमा विपद् घोषणा गरिएको छ।
मौसम विभागका अनुसार बिहीबारदेखि आइतबारसम्म बैंककका केही क्षेत्रमा ३३० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। लगातारको वर्षापछि नहर तथा जल निकासी प्रणालीमा पानीको सतह बढ्दा राजधानीका विभिन्न क्षेत्रमा बाढीको अवस्था सिर्जना भएको हो।
बाढीका कारण कतिपय क्षेत्रमा मानिसहरू घुँडासम्म आउने फोहोर पानीबाट आवतजावत गर्न बाध्य भएका छन्। केही स्थानीयले प्लास्टिकका टबमा आवश्यक सामान राखेर सुरक्षित स्थानतर्फ लैजाने गरेका छन्।
बाढी प्रभावित क्षेत्रमा अस्थायी आश्रयस्थल सञ्चालनमा ल्याइएको छ। बैंककका गभर्नर चाडचार्ट सिटिपुन्टले अत्यावश्यक कामबाहेक यात्रा नगर्न बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आग्रह गरेका छन्। केही आश्रयस्थलमा विस्थापितहरूलाई विद्यालयका कक्षाकोठा, बेन्च तथा अस्थायी ओछ्यानमा राखिएको छ।
बाढीका कारण बैंककका सयौँ विद्यालय सोमबार बन्द हुने महानगर प्रशासनले जनाएको छ। केही क्षेत्रमा अत्यावश्यक सामग्रीको माग बढेपछि पसलका र्याकसमेत खाली भएका छन्। प्रधानमन्त्री कार्यालयले भने सर्वसाधारणलाई आत्तिएर अत्यधिक सामग्री खरिद नगर्न आग्रह गरेको छ।
अधिकारीहरूका अनुसार बैंककका नहरमा पानीको सतह अझै उच्च रहेकाले पानी निकासको काम तीव्र पारिएको छ। आइतबार पनि केही क्षेत्रमा वर्षा हुने सम्भावना रहे पनि सोमबारदेखि वर्षा क्रमशः कम हुने अनुमान गरिएको छ।
थाइल्यान्डमा सन् २०११ मा आएको विनाशकारी बाढीमा ५०० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने लाखौँ घरमा क्षति पुगेको थियो। यसपटकको बाढी पनि विगतका वर्षको तुलनामा गम्भीर देखिएको स्थानीय बासिन्दाले बताएका छन्।






















प्रतिक्रिया