परराष्ट्रमन्त्री खनालसँग भेटमा अष्ट्रेलियाका पूर्वप्रधानमन्त्रीको यस्तो खुलासा


न्युयोर्क। संयुक्त राष्ट्रसंघको महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री तथा एसिया सोसाइटीका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत केभिन रुडबीच भएको संवादमा भगवान गौतम बुद्धको जन्मस्थलबारे चर्चा भएको छ।

एसिया सोसाइटीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सम्बोधनपछि भएको अनौपचारिक संवादका क्रममा रुडले गौतम बुद्ध वर्तमान नेपालको भूभागमा जन्मिएको विषय आफूलाई जानकारी नभएको बताएका थिए।

खनालको मन्तव्य सुनेपछि रुडले आफूले नेपाललाई बुद्धको जन्मस्थलका रूपमा भन्दा प्राचीन वैदिक परम्परासँग जोडेर बुझ्दै आएको बताएका थिए। उनले नेपालमा बौद्ध धर्मावलम्बीको जनसंख्याबारे समेत मन्त्री खनालसँग जिज्ञासा राखेका थिए।

जवाफमा खनालले नेपालमा करिब २० देखि २५ प्रतिशत बौद्ध धर्मावलम्बी रहेको जानकारी दिँदै हिन्दु र बौद्ध परम्पराबीच नेपालको सामाजिक तथा धार्मिक जीवनमा लामो समयदेखि सहअस्तित्व रहेको बताए।

नेपालमा हिन्दु–वैदिक परम्पराको प्रभाव रहे पनि हिन्दु समुदायमा समेत बुद्धप्रति श्रद्धा रहेको उल्लेख गर्दै खनालले नेपालको धार्मिक सहअस्तित्वलाई मौलिक विशेषताका रूपमा प्रस्तुत गरेका थिए।

रुडले नेपालमा कुन सम्प्रदायको बौद्ध परम्परा प्रचलित छ भन्ने प्रश्नसमेत गरेका थिए। त्यस क्रममा खनालले नेपालमा थेरवादको अभ्याससँगै महायान बौद्ध परम्पराको ऐतिहासिक भूमिका महत्वपूर्ण रहेको जानकारी दिएका थिए।

खनालले काठमाडौं उपत्यकाबाट विकसित महायान बौद्ध परम्परा तिब्बती भूभाग हुँदै एसियाका विभिन्न क्षेत्रमा फैलिएको ऐतिहासिक पक्षबारे समेत जानकारी गराएका थिए।

महासभामा सहभागी हुन न्युयोर्क पुगेका खनालले एसिया सोसाइटीको कार्यक्रममा नेपालको भू–राजनीति, आर्थिक सम्भावना, परराष्ट्र नीति तथा ऐतिहासिक–सांस्कृतिक पहिचानबारे धारणा राखेका थिए।