जनावरको टोकाइ बढ्यो, रेबिज खोपको अभाव


काठमाडौँ । नेपालमा जनावरको टोकाइका घटना निरन्तर बढ्दै गए पनि रेबिजविरुद्धको खोप पर्याप्त हुन नसकेको पाइएको छ । आर्थिक वर्ष २०८१/८२ मा देशभर २ लाख २३ हजार ५ सय १० जनावरको टोकाइका घटना दर्ता हुँदा आवश्यकताअनुसार खोप उपलब्ध हुन नसकेको देखिएको हो ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले सो आर्थिक वर्षमा प्रत्येक प्रदेशका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई २ लाख ६४ हजार भाइल रेबिजविरुद्धको खोप पठाएको थियो । एक जना संक्रमितका लागि कम्तीमा तीन भाइल खोप आवश्यक पर्ने भए पनि उपलब्ध खोपको तुलनामा करिब एक लाख भाइल अपुग देखिएको हो ।

आपूर्ति व्यवस्थापन शाखाका प्रमुख दयानिधि पन्तका अनुसार प्रदेशको मागअनुसार खोप पठाउने गरिएको छ । स्वास्थ्य संस्थामा एक जना सेवाग्राही आए पनि खोपको भाइल खोल्नुपर्ने र बाँकी मात्रा प्रयोग गर्न नमिल्दा खोप खेर जाने गरेको उनले बताए । पर्याप्त बजेट विनियोजन नहुँदा पनि खोप खरिदमा समस्या हुने गरेको उनको भनाइ छ ।

नेपालमा जनावरको टोकाइका घटना पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढेका छन् । आर्थिक वर्ष २०७९/८० मा १ लाख १९ हजार ३ सय ९२ घटना दर्ता भएकोमा २०८०/८१ मा यो संख्या बढेर २ लाख १० हजार ३ सय १ पुगेको थियो । २०८१/८२ मा भने २ लाख २३ हजार ५ सय १० घटना पुगेका छन् ।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै बागमती प्रदेशमा ८० हजार १ सय ८५ जनावरको टोकाइका घटना दर्ता भएका छन् । कोशीमा ४२ हजार ९ सय ४, लुम्बिनीमा ३७ हजार १ सय ३५, मधेसमा २१ हजार ८०, गण्डकीमा १९ हजार २२, सुदूरपश्चिममा १७ हजार ७ सय २८ र कर्णालीमा ५ हजार ४ सय ५६ घटना दर्ता भएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनावरको टोकाइमध्ये करिब ९६ प्रतिशत घटना कुकुरका कारण हुने गरेका छन् । जुनोटिक तथा अन्य सरुवा रोग नियन्त्रण शाखाका प्रमुख डा. अमृत पोखरेलका अनुसार नेपालमा रेबिजका कारण वार्षिक करिब एक सय जनाको मृत्यु हुने गरेको छ ।

नेपालको करिब ५० प्रतिशत जनसंख्या रेबिजको उच्च जोखिममा रहेको बताइएको छ । विशेषगरी बालबालिका बढी प्रभावित हुने गरेका छन् । भौगोलिक जोखिमका आधारमा तराई तथा दक्षिणी भूभाग उच्च, मध्यपहाडी क्षेत्र मध्यम र हिमाली क्षेत्र न्यून जोखिममा राखिएको छ ।

टोकाइपछि रेबिजविरुद्धको खोप सेवा सहज बनाउन देशभर २ सय ८६ वटा एआरभी सेवा केन्द्र सञ्चालनमा छन् । कर्णालीमा ५८, कोशीमा ५४, गण्डकीमा ४८, लुम्बिनीमा ४३, बागमतीमा ३५ तथा मधेस र सुदूरपश्चिममा २४–२४ वटा सेवा केन्द्र रहेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार अस्पतालमा मात्रै हरेक वर्ष १६ देखि १८ जनासम्म रेबिज संक्रमितको मृत्यु हुने गरेको छ । रेबिजका करिब ९९ प्रतिशत घटना कुकुरसँग सम्बन्धित हुने भएकाले कुकुरको टोकाइपछि समयमै उपचार र खोप लगाउनु आवश्यक रहेको चिकित्सकहरू बताउँछन् ।

चिकित्सकहरूले रेबिज नियन्त्रणका लागि मानवसँगै जनावरको स्वास्थ्यलाई समेत प्राथमिकतामा राखेर ‘वान हेल्थ’ अवधारणाअनुसार काम गर्नुपर्नेमा जोड दिएका छन् । सामुदायिक कुकुरमा व्यापक खोप अभियान सञ्चालन गर्नुका साथै मानिसमा खोपको पहुँच विस्तार गर्नुपर्ने उनीहरूको सुझाव छ ।

कुनै पनि कुकुर, बिरालो वा सम्भावित रेबिज संक्रमित जनावरले टोके वा चिथोरेमा तत्काल घाउलाई साबुन र बगिरहेको पानीले कम्तीमा १५ मिनेटसम्म राम्ररी धुन चिकित्सकहरूले सुझाव दिएका छन् । घाउमा खुर्सानी, तेल, माटो, जडीबुटी वा अन्य घरेलु पदार्थ लगाउन नहुने र तत्काल स्वास्थ्य संस्थामा पुगेर आवश्यक खोप तथा उपचार लिनुपर्ने उनीहरूको भनाइ छ ।

नेपालले सन् २०३० सम्म कुकुरको टोकाइबाट हुने रेबिजजन्य मृत्युलाई शून्यमा झार्ने लक्ष्य लिएको छ ।