अमेरिका र चीनबीच ६० अर्ब डलरका वस्तुको भन्सार घटाउने समझदारी


बेइजिङ । अमेरिका र चीनले एकअर्काबाट आयात हुने करिब ६० अर्ब अमेरिकी डलर मूल्यका विभिन्न वस्तुमा लगाइएको भन्सार शुल्क घटाउने सहमति गरेका छन् । सहमतिअनुसार दुवै देशले ३०–३० अर्ब डलर बराबरका गैरसंवेदनशील वस्तुमा तुलनात्मक रूपमा सहज भन्सार व्यवस्था लागू गर्ने भएका छन् ।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरका अनुसार नयाँ व्यवस्थाबाट चीनमा निर्यात हुने अमेरिकी वस्तुमध्ये करिब ३० प्रतिशतको बजार पहुँचमा सुधार आउनेछ ।

सहमतिअनुसार चीनले अमेरिकाबाट आयात हुने मकै, गहुँ, ज्वार, मासु, दुग्धजन्य पदार्थ र वनस्पति तेललगायत कृषि उत्पादनमा भन्सार शुल्क घटाउने तयारी गरेको छ । यद्यपि, सोयाबिनलाई भने भन्सार कटौतीको सूचीमा समावेश गरिएको छैन ।

त्यस्तै, चीनले अमेरिकाबाट आयात हुने माछा तथा समुद्री खाद्य पदार्थ, काठ तथा काठजन्य सामग्री, सौन्दर्य सामग्री र चिकित्सा उपकरणमा समेत भन्सार शुल्क घटाउने भएको छ ।

अमेरिकाले पनि चीनबाट आयात हुने कफी बनाउने उपकरण, टोस्टरलगायत साना घरेलु उपकरण, टेबलवेयर, कम्बल तथा ओछ्यानका कपडामा भन्सार कटौती गर्ने भएको छ । खेलौना, आतसबाजी, कृत्रिम फूल, क्रिसमस रूखमा प्रयोग हुने बत्ती तथा अन्य सजावटी सामग्री र बालबालिकाका कार सिटसमेत अमेरिकाले भन्सार घटाउने वस्तुको सूचीमा राखेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच गत साता वासिङ्टनमा भएको यस वर्षको दोस्रो शिखर बैठकपछि दुई देशबीचको व्यापारसम्बन्धी नयाँ सहमति सार्वजनिक गरिएको हो ।

व्यापार युद्धविराम थप दुई महिना लम्बिने

यसैबीच, अमेरिका र चीनबीच जारी व्यापार युद्धविरामलाई थप दुई महिना लम्ब्याउने सहमति भएको छ । चीनको वाणिज्य मन्त्रालयका अनुसार युद्धविरामको अवधि जनवरी १० सम्म कायम रहनेछ ।

मन्त्रालयले युद्धविराम विस्तार भएपछि दुवै पक्षलाई आर्थिक तथा व्यापारिक विवाद समाधानका लागि भइरहेका व्यवस्थाको समीक्षा गर्न तथा थप सहकार्यका विषयमा छलफल अघि बढाउन समय मिल्ने जनाएको छ ।

चीनका अनुसार युद्धविरामको विस्तारले दुई देशका कम्पनीबीच व्यापार तथा सहकार्यलाई निरन्तरता दिन तुलनात्मक रूपमा स्थिर र पूर्वानुमानयोग्य नीतिगत वातावरण निर्माण गर्नेछ ।

यस अवधिमा अमेरिका र चीनले बाँकी व्यापारिक तथा आर्थिक विषयमा वार्तालाई निरन्तरता दिने र पारस्परिक सहमतिका आधारमा थप विषय टुंग्याउने प्रयास गर्नेछन् ।