‘चुनाव हेरफेर गर्न ज्ञानेश कुमार प्रयोग गरिए’– राहुल गान्धी


नयाँदिल्ली । भारतका विपक्षी दलहरूको गठबन्धन ‘इन्डिया’ ब्लकले निर्वाचन आयोगको भूमिका र मतदाता सूची संशोधनसम्बन्धी विषयलाई लिएर आन्दोलन अघि बढाउने निर्णय गरेको छ।

बुधबार नयाँदिल्लीमा बसेको गठबन्धनको बैठकमा १९ दल सहभागी भएको कांग्रेस नेता जयराम रमेशले बताएका छन्। बैठकको अध्यक्षता कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले गरेका थिए।

बैठकपछि खड्गेले निर्वाचन आयोगको भूमिकामाथि प्रश्न उठाउँदै आयोगका केही अधिकारीलाई प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले राजनीतिक रूपमा प्रयोग गरिरहेको आरोप लगाए। निर्वाचन आयोगले भने आफ्ना निर्णयहरू कानुनी प्रक्रिया र संस्थागत छलफलअनुसार हुने बताउँदै आएको छ।

खड्गेका अनुसार विपक्षी दलहरूले निर्वाचनसम्बन्धी मुद्दामा एकजुट भएर आन्दोलन अघि बढाउने सहमति गरेका छन्। त्यसअनुसार अक्टोबर २ देखि ८ सम्म जिल्ला अधिकारी (डीएम)का कार्यालयबाहिर प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।

त्यस्तै, अक्टोबर ६ मा विपक्षी सांसदहरूले निर्वाचन आयोगसम्म मार्च गर्ने र अक्टोबरको दोस्रो साता राष्ट्रपतिसँग भेटका लागि समय माग्ने तयारी गरिएको खड्गेले जानकारी दिए।

यसैबीच, कांग्रेस नेता राहुल गान्धीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कानुनी सुरक्षाको विषय उठाउँदै सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्। उनले ज्ञानेश कुमारलाई निर्वाचनमा हेरफेरका लागि प्रधानमन्त्री मोदीले प्रयोग गरिरहेको आरोपसमेत लगाएका छन्।

विपक्षी गठबन्धनको बैठक विशेष गहन पुनरावलोकन (एसआईआर)मार्फत मतदाता सूची संशोधन, निर्वाचन आयोगको कार्यप्रणाली र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको भूमिकालाई लिएर जारी विवादको पृष्ठभूमिमा बसेको हो।

निर्वाचन आयोगले भने आफ्ना निर्णयहरू कानुनी प्रक्रियाअनुसार हुने र आयुक्तहरूबीच फरक धारणा हुनु संस्थागत छलफलको सामान्य प्रक्रिया भएको बताउँदै आएको छ।