कैदीलाई मृत्युदण्ड दिन खोज्दा भयो गम्भीर यातना


काठमाडौँ । अमेरिकाको टेनेसी राज्यमा मृत्युदण्ड कार्यान्वयन गर्ने क्रममा गम्भीर त्रुटि भएपछि राज्यको जेल प्रशासन र मृत्युदण्ड प्रणालीमाथि प्रश्न उठेको छ। घातक सुईमार्फत मृत्युदण्ड दिन खोज्दा नसामा सुई छिराउन नसकेपछि कैदी क्रिस्टा पाइकलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ।

सन् १९९५ मा १९ वर्षीया सहपाठी कोलिन स्लेमरको हत्या गरेको अभियोगमा दोषी ठहर भएकी पाइकलाई सेप्टेम्बर ३० मा पेन्टोबार्बिटल नामक घातक औषधि दिएर मृत्युदण्ड दिने तयारी गरिएको थियो। तर जेलका कर्मचारीले करिब एक घण्टासम्म उनको नसामा सुई लगाउने प्रयास गर्दा पनि सफल हुन सकेनन्।

पाइकका वकिलका अनुसार उनलाई सुई लगाउन कम्तीमा सातवटा प्रयास गरिएको थियो। यसअघि नै पाइकको नसामा सुई लगाउन कठिन हुने स्वास्थ्यसम्बन्धी समस्या रहेको जानकारी राज्यका अधिकारीलाई दिइएको थियो। वकिलहरूले घातक औषधि रगतमा पुग्न नसकी शरीरका तन्तुमा पुगेको हुन सक्ने आशंका गरेका छन्।

पहिलो मात्रा प्रभावकारी नभएपछि उनलाई दोस्रो मात्रा औषधिसमेत दिइएको थियो। तर त्यसबाट पनि मृत्युदण्ड कार्यान्वयन हुन सकेन। त्यसपछि पाइकलाई अस्पताल लगिएको थियो, जहाँ उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

सुरुमा अचेत रहेकी पाइक अक्टोबर ६ सम्ममा होसमा आएकी र बोल्न सक्ने अवस्थामा पुगेकी उनका वकिलहरूले बताएका छन्। यद्यपि उनको हातमा गम्भीर क्षति पुगेको जनाइएको छ। अस्पतालको शय्यामा समेत उनलाई हतकडी र खुट्टामा नेल लगाएर राखिएको वकिलहरूको भनाइ छ। उनको पूर्ण स्वास्थ्यलाभ हुने वा नहुनेबारे भने चिकित्सकीय अवस्था अझै स्पष्ट भइसकेको छैन।

पाइकका वकिल स्टेफन फेरेलले मृत्युदण्ड कार्यान्वयनका क्रममा उनले कति पीडा भोगिन् भन्ने कुरा पूर्ण रूपमा थाहा पाउन कठिन हुने बताएका छन्। उनले पाइकलाई पुनः मृत्युदण्ड दिने प्रयासले न्याय पूरा नहुने भन्दै उनको सजायलाई आजीवन कारावासमा परिवर्तन गर्न गभर्नरसमक्ष आग्रह गरेका छन्।

के थियो पाइकको अपराध ?

पाइक सन् १९९५ मा आफ्नी १९ वर्षीया सहपाठी कोलिन स्लेमरलाई यातना दिएर हत्या गरेको अभियोगमा दोषी ठहर भएकी थिइन्। उक्त घटनामा उनका तत्कालीन प्रेमी पनि दोषी ठहर भएका थिए।

पाइकले तीन दशकभन्दा बढी समय जेलमा बिताइसकेकी छन्। उनका वकिलका अनुसार उनको जेलजीवनको ठूलो हिस्सा एकान्त कारावासमा बितेको थियो।

यता, मृतक स्लेमरकी आमा मे मार्टिनेजले भने छोरीको हत्याको तीन दशक बितिसक्दा पनि परिवारले न्यायको अनुभूति गर्न नसकेको बताएकी छन्। उनी श्रीमान्सँगै फ्लोरिडाबाट टेनेसीको न्यासभिलस्थित कारागार पुगेकी थिइन् र पाइकलाई मृत्युदण्ड दिइएको प्रत्यक्ष हेर्ने तयारीमा थिइन्।

तर मृत्युदण्ड कार्यान्वयनको प्रक्रिया अघि बढिरहेका बेला साक्षी बस्ने कोठाको पर्दा बन्द गरिएको थियो। केही समयपछि साक्षीहरूलाई बाहिर निकालिएको र पाइकलाई अस्पताल लगिएको जानकारी दिइएको थियो। मार्टिनेजले घटनाका लागि राज्यले आफ्नो परिवारसँग ठूलो माफी माग्नुपर्ने बताएकी छन्।

जेल प्रशासनमाथि पनि प्रश्न

घटनापछि टेनेसीको सुधार विभाग र मृत्युदण्ड कार्यान्वयन प्रक्रियामाथि थप प्रश्न उठेको छ। सुधार विभागका आयुक्त फ्र्याङ्क स्ट्राडाले अक्टोबरको अन्त्यमा पद छाड्ने घोषणा गरिएको छ। गभर्नर बिल लीले घटनाको स्वतन्त्र छानबिन अघि बढाएका छन्।

स्ट्राडाको विगतको कार्यकाललाई लिएर समेत प्रश्न उठेको छ। टेनेसीको सुधार विभाग सम्हाल्नुअघि उनी एरिजोनाको सुधार विभागमा उपनिर्देशक थिए। त्यहाँ उनको कार्यकालमा मृत्युदण्ड कार्यान्वयनका तीन घटनामा समस्या देखिएको थियो। ती घटनामा पनि कैदीको नसामा सुई लगाउन कठिनाइ भएको थियो।

त्यसपछि एरिजोनाका अधिकारीहरूले मृत्युदण्ड कार्यान्वयनको प्रक्रियामाथि समीक्षा गरेका थिए। घातक औषधिको प्रभावकारिता, औषधि तयार गर्ने प्रक्रिया तथा सुई लगाउने टोलीको कार्यविधिमाथि समेत प्रश्न उठाइएको थियो।

टेनेसीमा भएको पछिल्लो घटनाको स्वतन्त्र समीक्षा गर्न पूर्वअमेरिकी महान्यायाधिवक्ता एड स्ट्यान्टनलाई जिम्मेवारी दिइएको छ। उनले यसअघि पनि टेनेसीमा घातक सुईमार्फत मृत्युदण्ड दिने प्रक्रियाको समीक्षा गरिसकेका छन्।

टेनेसीमा दोस्रो असफल प्रयास

पाइकको घटना टेनेसीमा यस वर्ष घातक सुईमार्फत मृत्युदण्ड दिन खोज्दा असफल भएको दोस्रो घटना हो। यसअघि मे महिनामा टोनी कारुथर्सलाई मृत्युदण्ड दिने क्रममा पनि उनको नसामा सुई लगाउन नसकेपछि प्रक्रिया रोकिएको थियो।

लगातारका घटनापछि गभर्नर लीले यस वर्षका लागि टेनेसीमा मृत्युदण्ड कार्यान्वयन स्थगित गरेका छन्। अबको छानबिनले पाइकको घटनामा के–कस्ता त्रुटि भए र त्यसको जिम्मेवारी कसको हो भन्ने स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

यस घटनासँगै मृत्युदण्ड दिने वैकल्पिक विधिबारे समेत अमेरिकामा राजनीतिक बहस चर्किएको छ। रिपब्लिकन सिनेटर मार्सा ब्ल्याकबर्नले विद्युतीय कुर्सीमार्फत मृत्युदण्ड दिने व्यवस्था अघि बढाउनुपर्ने धारणा राखेकी छन्। केही सांसदले गोली हानेर मृत्युदण्ड दिने विधिलाई समेत विकल्पका रूपमा प्रस्ताव गरेका छन्।

पाइकको घटनाले अमेरिकामा मृत्युदण्ड कार्यान्वयनको प्रक्रिया र त्यसमा राज्यको जिम्मेवारीबारे पुरानो बहसलाई पुनः सतहमा ल्याएको छ। एकातिर पीडित परिवारले न्यायको माग गरिरहेको छ भने अर्कोतिर मृत्युदण्ड कार्यान्वयनकै क्रममा कैदी गम्भीर घाइते भएपछि राज्यको प्रक्रिया, तयारी र जवाफदेहितामाथि प्रश्न उठेको छ।