काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व तत्काल अन्त्य गरी कूटनीतिक माध्यमबाट समाधान खोज्न सबै पक्षलाई आह्वान गरेका छन् ।
पाकिस्तान भ्रमणका क्रममा मंगलबार प्रेस टिप्पणी गर्दै महासचिव गुटेरेसले अन्तर्राष्ट्रिय कानूनको पूर्ण पालना गर्दै नौवहन अधिकार तथा स्वतन्त्रता पुनःस्थापित गर्नसमेत सम्बन्धित पक्षसँग आग्रह गरेका हुन् ।
उनले मध्यपूर्वमा दिगो शान्ति स्थापना गर्न प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकार पूर्ण रूपमा सुनिश्चित हुनुपर्नेमा जोड दिए । प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकारका पक्षमा पाकिस्तानले निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै गुटेरेसले यस विषयमा अन्तर्राष्ट्रिय समुदायको निरन्तर प्रयास आवश्यक रहेको बताए ।
गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व र अस्थिरताले क्षेत्रीय शान्ति तथा स्थायित्वमा गम्भीर असर पारिरहेको भन्दै संवाद र सहकार्यबाट समाधान खोज्नुपर्ने बताए । उनका अनुसार कूटनीतिक प्रयासमार्फत क्षेत्रीय तनाव कम गर्दै शान्ति र समृद्धिको वातावरण निर्माण गर्न सकिन्छ ।
महासचिव गुटेरेसले द्वन्द्व तथा अस्थिरताका कारण आफ्नो देश छाड्न बाध्य भएका लाखौँ अफगान नागरिकलाई पाकिस्तानले दशकौँदेखि आश्रय दिँदै आएको विषयको पनि प्रशंसा गरे ।
उनले अफगान नागरिक स्वेच्छाले, सुरक्षित र सम्मानपूर्वक स्वदेश फर्कन सक्ने वातावरण निर्माण गर्न संयुक्त राष्ट्रसङ्घ पाकिस्तानसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए । यसका लागि मानवीय सहयोग तथा अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।
गुटेरेसले संयुक्त राष्ट्रसङ्घका सिद्धान्त र अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्दै क्षेत्रीय समस्याको शान्तिपूर्ण समाधान खोज्नुपर्ने बताए । संवाद, सहकार्य र कूटनीतिक पहलबाट मात्रै दीर्घकालीन स्थायित्व कायम गर्न सकिने उनको भनाइ थियो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसको पाकिस्तानको पछिल्लो भ्रमण सन् २०२२ मा भएको थियो । त्यस वर्ष पाकिस्तानमा आएको विनाशकारी बाढीपछि उनले पाकिस्तानको भ्रमण गरेका थिए ।




















प्रतिक्रिया