एजेन्सी । सन् २०२६ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार हेनरी बी. कागन र केन्सो सोइलाई प्रदान गरिने भएको छ।
जैविक पदार्थ निर्माणका क्रममा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया तथा स्वतः उत्प्रेरणासम्बन्धी महत्वपूर्ण खोजका लागि कागन र सोइलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गर्न लागिएको हो।
रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले बुधबार स्विडेनको स्टकहोममा यस वर्षको रसायनशास्त्रतर्फका नोबेल पुरस्कार विजेताको घोषणा गरेको हो।
यस वर्ष नोबेल पुरस्कारको रकम एक करोड २० लाख स्विडिस क्रोनर रहेको छ। नोबेल पुरस्कार एक जना, एकभन्दा बढी वैज्ञानिक वा कुनै संस्थालाई प्रदान गर्न सकिने व्यवस्था छ।
गत वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार नयाँ आणविक संरचनाको विकासमा योगदान पुर्याएका तीन वैज्ञानिकलाई प्रदान गरिएको थियो। उनीहरूको अनुसन्धानले ठूलो मात्रामा ग्यास भण्डारण गर्न सक्ने संरचनाको विकासमा योगदान पुर्याएको थियो। यसबाट वायुमण्डलबाट हरितगृह ग्यास सोस्ने तथा सुक्खा क्षेत्रमा हावाबाट आर्द्रता प्राप्त गर्ने प्रविधिको विकासका लागि आधार तयार भएको थियो।
यस वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार सोमबार तीन वैज्ञानिकलाई प्रदान गरिएको थियो। त्यस्तै, मंगलबार भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो।
साहित्यतर्फको नोबेल पुरस्कार बिहीबार घोषणा गरिनेछ भने शान्तितर्फको पुरस्कार शुक्रबार घोषणा हुनेछ। अर्थशास्त्रतर्फको नोबेल स्मृति पुरस्कार भने आगामी सोमबार घोषणा गर्ने कार्यक्रम रहेको छ।




















प्रतिक्रिया