अहमदाबाद । भारतको गुजरातस्थित अहमदाबादमा चर्चित पञ्जाबी गायक तथा अभिनेता दिलजीत दोसाँझको कन्सर्टअघि नरेन्द्र मोदी स्टेडियमसहित पाँचभन्दा बढी विद्यालयमा बम विस्फोट गराउने धम्की आएको छ।
भारतीय सञ्चारमाध्यम ईटीभीका अनुसार बुधबार बिहान ११ः११ बजे विभिन्न स्थानमा धम्कीपूर्ण इमेल प्राप्त भएका थिए। ती इमेलमा ‘बोलेगा खालिस्तान’ र ‘खालिस्तान जिन्दाबाद’ जस्ता नारा प्रयोग गरिएको बताइएको छ। इमेल पठाउने व्यक्तिले आफूलाई खालिस्तान समर्थकका रूपमा प्रस्तुत गरेको जनाइएको छ।
धम्कीपूर्ण इमेलमार्फत अभिभावकहरूलाई आफ्ना बालबालिकालाई दिलजीत दोसाँझको आगामी कन्सर्टमा सहभागी हुन नपठाउन आग्रह गरिएको थियो। इमेलमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा नोभेम्बर २१ मा हुने कन्सर्टसँगै दिल्लीको जवाहरलाल नेहरू स्टेडियममा नोभेम्बर १ मा हुने कार्यक्रमको समेत उल्लेख गरिएको बताइएको छ।
धम्कीपछि अहमदाबादका विभिन्न विद्यालयमा सुरक्षा सतर्कता बढाइएको छ। प्रभावित विद्यालयमा एसिया स्कुल, बोडकदेव स्कुल फर चिल्ड्रेन, एसजीभीपी स्कुल, भेजलपुरस्थित जायडस स्कुल र सन्त कबिर स्कुल रहेका छन्।
विद्यालय प्रशासनले धम्कीबारे तत्काल स्थानीय अधिकारीलाई जानकारी गराएपछि बम डिस्पोजल टोली, बम पत्ता लगाउने टोली तथा सुरक्षाकर्मी परिचालन गरिएको थियो। सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्यालय परिसरमा सुरक्षा जाँचसमेत सुरु गरिएको छ।
अहमदाबादका जिल्ला शिक्षा अधिकारीले प्रभावित विद्यालयहरूको तत्काल भौतिक निरीक्षण गर्न निर्देशन दिएका छन्। आवश्यक देखिएमा विद्यार्थीहरूलाई सुरक्षित स्थानमा सार्नसमेत विद्यालय प्रशासनलाई भनिएको छ।
प्रहरी र साइबर अपराध अनुसन्धान टोलीले धम्कीपूर्ण इमेलको डिजिटल स्रोत पत्ता लगाउने प्रयास गरिरहेका छन्। अधिकारीहरूले इमेल वास्तविक सुरक्षा जोखिमसँग सम्बन्धित हो वा त्रास सिर्जना गर्ने उद्देश्यले पठाइएको हो भन्नेबारे अनुसन्धान भइरहेको बताएका छन्।
दिलजीत दोसाँझको बहु–सहर कन्सर्ट भ्रमणअन्तर्गत दिल्ली, इन्दौर, अहमदाबाद, मुम्बई, बेंगलुरु, लखनउ र चण्डीगढलगायत सहरमा कार्यक्रम हुँदैछन्। धम्कीपछि प्रहरीले कन्सर्ट आयोजना हुने प्रमुख स्थानहरूमा सुरक्षा व्यवस्था थप कडा बनाएको छ।
प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाउँदै सर्वसाधारणलाई शान्त रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।




















प्रतिक्रिया