काठमाडौँ । नेपालमा बौद्धिक सम्पत्ति संरक्षण, ट्रेडमार्क सुरक्षा तथा व्यावसायिक विश्वासको वातावरण सुदृढ गर्ने विषयमा नेपालस्थित अमेरिकी वाणिज्य सङ्घ र काठमाडौँस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग छलफल गरिएको छ।
गत असोज २० गते आयोजित कार्यक्रममा नेपालस्थित अमेरिकी वाणिज्य सङ्घका सदस्य कम्पनीका ३० भन्दा बढी कानुनी प्रतिनिधि तथा व्यावसायिक नेतृत्वकर्ताको सहभागिता थियो।
छलफलमा नेपालमा बौद्धिक सम्पत्तिको संरक्षण, ट्रेडमार्कको सुरक्षा, नवप्रवर्तन तथा व्यावसायिक विश्वासलगायत विषयमा सहभागीले आफ्ना अनुभव, समस्या र चासो प्रस्तुत गरेका थिए। कार्यक्रममा दक्षिण एसियाका लागि अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयका बौद्धिक सम्पत्ति प्रतिनिधि शैलेन्द्र भूमरलकर तथा वरिष्ठ वाणिज्य विशेषज्ञ एवं बौद्धिक सम्पत्ति नीति सल्लाहकार शिल्पी झाको सहभागिता थियो।
विभिन्न कम्पनीका प्रतिनिधिले ट्रेडमार्कको नक्कल, त्यसबाट उपभोक्तामा पर्न सक्ने भ्रम, ब्रान्डको प्रतिष्ठा, स्रोत–कोड चोरी तथा अमूर्त वस्तु र सेवामा लाग्ने करलगायत विषय उठाएका थिए। उनीहरूले बौद्धिक सम्पत्तिको संरक्षण तथा कानुन कार्यान्वयनमा स्पष्टता, पूर्वानुमानयोग्य व्यवस्था, समयमै कारबाही र एकरूपता आवश्यक रहेको बताएका थिए।
नेपालस्थित अमेरिकी वाणिज्य सङ्घका अध्यक्ष कैलाश विजयानन्दले बौद्धिक सम्पत्ति अब कानुनी वा नियामकीय विषयमा मात्र सीमित नरहेको बताए। उनका अनुसार नवप्रवर्तन, लगानी र ब्रान्ड निर्माणका लागि व्यवसायीलाई विश्वासिलो वातावरण आवश्यक हुन्छ।
अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयका प्रतिनिधिले बौद्धिक सम्पत्तिसम्बन्धी जनचेतना अभिवृद्धि तथा कानुन कार्यान्वयनका लागि विभिन्न निकायसँग गर्दै आएको सहकार्य र अनुभवबारे जानकारी गराएका थिए। उनीहरूले यस क्षेत्रमा उपलब्ध सहयोग, स्रोतसाधन तथा अनुदान कार्यक्रमबारे समेत सहभागीलाई जानकारी दिएका थिए।
छलफलमा नेपालले पेरिस महासन्धि तथा विश्व व्यापार सङ्गठनको व्यापारसम्बन्धी बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी सम्झौताअन्तर्गत गरेका प्रतिबद्धतालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको थियो। सहभागीले बौद्धिक सम्पत्ति संरक्षणलाई प्रभावकारी बनाउन जनचेतना, स्पष्ट तथा पूर्वानुमानयोग्य व्यवस्था र कानुनको एकरूप कार्यान्वयन आवश्यक रहेको बताएका थिए।
नेपालस्थित अमेरिकी वाणिज्य सङ्घका अनुसार बलियो बौद्धिक सम्पत्ति संरक्षणले अन्तर्राष्ट्रिय ब्रान्डलाई मात्र नभई नेपाली नवप्रवर्तनकर्ता, उद्यमी, सिर्जनशील क्षेत्र तथा प्रविधि कम्पनीलाई समेत लाभ पुर्याउँछ। प्रभावकारी प्रणालीले अन्तर्राष्ट्रिय लगानीकर्ता र स्थापित ब्रान्डका लागि समेत नेपालमा लगानी तथा व्यवसाय विस्तारको वातावरण सहज बनाउन सक्ने सङ्घको भनाइ छ।
कार्यक्रमका सहजीकर्ता तथा नेपालस्थित अमेरिकी वाणिज्य सङ्घका कार्यकारी निर्देशक अमिर आर. थापाले बौद्धिक सम्पत्तिसम्बन्धी जानकारीलाई व्यवहारिक समाधान र सहकार्यमा रूपान्तरण गर्नुपर्ने बताए। उनका अनुसार यस्तो छलफलले व्यवसायीलाई नवप्रवर्तन, लगानी र व्यवसाय विस्तारका लागि थप विश्वासिलो वातावरण निर्माण गर्न सहयोग पुर्याउनेछ।
छलफलले नेपाली तथा अमेरिकी व्यवसाय, अमेरिकी संस्थाहरू र नेपालको नीति तथा नियामकीय निकायबीच समन्वय र सहकार्य बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।




















प्रतिक्रिया