‘पाँच पाण्डव’ पोष्टरको छैन चर्चा, इभा–विपिन टसल चर्चामा



नेपालीमा एउटा उखान छ, ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने । अहिले, कात्तिक २० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘पाँच पाण्डव’को प्रचार शैली पनि यस्तै भएको छ ।

फिल्मको २ पोष्टर सार्वजनिक भइसकेको छ । तर, यी दुवै पोष्टरले कुनै चर्चा पाएका छैनन् । मोडल इभा गिरीलाई फिल्मको टिमले द्रौपदी बनाएको छ । तर, इभाको यो पोष्टरले फिल्मलाई फाइदा होला कि घाटा रिलिजपछि थाहा हुनेछ ।

तर, हालै मात्र एक रियालिटी शोजमा पुगेकी इभाले वरिष्ठ कलाकार हरिवंश आचार्यदेखि जितु नेपालसम्मलाई छायामा पारिदिइन् । रियालिटी शोजबाट बाहिरिदै गर्दा इभाको मात्र चर्चा भयो । हरिवंश र जितुको कुरा कही कतै आएन ।

निर्माणपक्षले चर्चा होला भनेर मिडिया त बोलायो, तर इभाले कलाकार विपिन कार्कीले दिएको एक अभिव्यक्तिमा आक्रोश पोखिन् । उनले, विपिनकी छोरीलाई समेत यो विवादमा जोडिदिइन् । हेलिकप्टरदेखि जेट प्लेनसम्म किन्न मन लागेको उडन्ते गफ गरिन् । जसले, भ्यूजमा चलेको पछिल्लो दुनियाँमा हरिवंशको चर्चा नै भएन ।

वसन्त निरौला निर्देशित यो फिल्मको पोष्टरदेखि प्रचारमा इभा गिरीको व्यक्तिगत जीवन हाबी भइरहेको छ । यसले, भोलिका दिनमा फिल्म रिलिज भएपछि पनि दर्शकले इभाको व्यक्तिगत जीवनकै रमाइलो माने भने फिल्मको हालत के होला खै ?