काठमाडौँ । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरिएका चार जनाविरुद्ध उजुरी आह्वान गरेको छ। समितिले सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित न्यायाधीश नियुक्तिका लागि उपयुक्त नभएको लागेमा स्पष्ट आधार र प्रमाणसहित १० दिनभित्र उजुरी दिन आग्रह गरेको हो।
न्याय परिषद्को असोज २० गते बसेको बैठकले पुनरावेदन अदालतका न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
संसदीय सुनुवाइ समितिको असोज २६ गते बसेको बैठकले प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार समितिले सोमबार सार्वजनिक सूचना जारी गरेको हो। सूचनामा कात्तिक ९ गतेदेखि लागू हुने गरी १० दिनभित्र उजुरी दिन सकिने उल्लेख छ।
समितिका अनुसार उजुरी स्पष्ट आधार, सबुत तथा प्रमाणसहित शिष्ट र मर्यादित भाषामा दिनुपर्नेछ। उजुरीकर्ताले आफ्नो नाम, थर, ठेगाना र फोन नम्बर खुलाउनुपर्ने भए पनि चाहेमा आफ्नो पहिचान गोप्य राख्न सक्नेछन्।
उजुरी संसदीय सुनुवाइ समितिको सचिवालय, सिंहदरबारमा सिधै वा देशका कुनै पनि जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता गराउन सकिनेछ।
प्राप्त उजुरीमाथि छानबिन गरेपछि समितिले प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउनेछ। समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

















प्रतिक्रिया