काठमाडौँ । काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सर्वसाधारणका लागि सञ्चालनमा आउने भएको छ। निर्माणको काम अन्तिम चरणमा पुगेपछि सडक डिभिजन कार्यालय, काठमाडौँले पुल सञ्चालनमा ल्याउने तयारी गरेको हो।
बबरमहल क्षेत्रमा सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई ध्यानमा राखेर आकाशे पुल निर्माण गरिएको हो। पुल सञ्चालनमा आएपछि पैदलयात्रुलाई सुरक्षित रूपमा सडक पार गर्न सहज हुने र सडक दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सडक डिभिजन कार्यालय, काठमाडौँका अनुसार पुलको भौतिक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आवश्यक काम पूरा गरी केही दिनभित्रै पैदलयात्रुका लागि खुला गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ।
उक्त पुल निर्माणका लागि २०८२ फागुन २१ गते सम्झौता भई काम सुरु गरिएको थियो। निर्माणको जिम्मेवारी हेटौँडास्थित हाइटेक इन्जिनियरिङ वर्क्स प्रालिले पाएको हो।
पुल निर्माणका लागि २ करोड ५२ लाख ४५ हजार ९५३ रुपैयाँ लागत निर्धारण गरिएको छ। पुल सञ्चालनमा आएपछि बबरमहल क्षेत्रमा सडक पार गर्ने पैदलयात्रुको आवागमन थप व्यवस्थित र सुरक्षित हुने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया