काठमाडौं। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति व्यवहारमै कार्यान्वयन गर्न आह्वान गरेका छन्। उनले पीडितको संरक्षण, दोषीमाथि कानुनी कारबाही र दण्डहीनताको अन्त्य राज्यको प्राथमिकता हुनुपर्ने बताएका छन्।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैङ्गिक हिंसालाई मानव अधिकारको गम्भीर उल्लङ्घन र समतामूलक समाज निर्माणको प्रमुख चुनौतीका रूपमा व्याख्या गरेका हुन्।
उनले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय लैङ्गिक हिंसाबाट बढी प्रभावित भइरहेको उल्लेख गर्दै डिजिटल माध्यमबाट हुने हिंसा पनि थप चुनौतीका रूपमा देखिएको बताएका छन्।
संविधानको मर्मअनुसार समानता, सामाजिक न्याय र समावेशितालाई व्यवहारमा उतार्न सबै प्रकारका हिंसा रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच र दोषीमाथि कानुनी कारबाही सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन्।
प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी तथा संस्थागत व्यवस्था सुदृढीकरण, महिलाको सशक्तीकरण, बालिका शिक्षाको प्रवर्द्धन तथा पीडितको संरक्षण र पुनःस्थापनालाई सरकारले प्राथमिकतामा राखेको स्पष्ट पारेका छन्।
यसैगरी, विपद्का समयमा लैङ्गिक हिंसाको जोखिम बढ्न सक्ने भन्दै उनले विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। अभियानलाई सफल बनाउन राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था र आम नागरिकलाई सक्रिय सहभागिताका लागि पनि उनले आह्वान गरेका छन्।
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुँदै आएको छ। यस वर्ष नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारासहित अभियान सुरु भएको छ।

















प्रतिक्रिया