कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ९०३ सवारीसाधन एक महिनाको अवधिमा कारबाहीमा परेका छन् । प्रहरीले ती सवारीसाधनलाई कारबाही गरी ३३ लाख ८६ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टका अनुसार गत असोज महिनामा प्रदेशभर २३५ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने ३६३ जना घाइते भएका थिए । दुर्घटनामा ३२१ वटा सवारीसाधन संलग्न रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अधिकांश दुर्घटना चालकको लापरबाहीका कारण भएका छन् । कुल दुर्घटनामध्ये २०८ वटा चालकको लापरबाहीका कारण भएका थिए भने छ वटा दुर्घटना मादक पदार्थ सेवनका कारण भएका थिए ।
त्यसैगरी, सवारीसाधनको अवस्थाका कारण नौ, यात्रुका कारण एक, पैदलयात्रीका कारण दुई, चौपायाका कारण पाँच र सडकको अवस्थाका कारण चार वटा दुर्घटना भएका थिए ।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले सवारीसाधनको यान्त्रिक परीक्षण कार्यक्रमसमेत सुरु गरेको प्रहरी वरिष्ठ उपरीक्षक विष्टले जानकारी दिए । सवारीसाधनको अवस्था जाँच गरी सम्भावित दुर्घटना रोक्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, प्रहरीले भन्सार छली गरी ल्याइएका सामानसहित २४ जनालाई नियन्त्रणमा लिएको छ । बरामद गरिएका सामानको मूल्य २ करोड २० लाख ६ हजार रुपैयाँ बराबर रहेको छ ।
प्राकृतिक सम्पदाको दोहनमा संलग्न व्यक्तिहरूमाथि पनि प्रहरीले कारबाही गरेको छ । प्रहरीले पाँच जना र २८ वटा सवारीसाधन नियन्त्रणमा लिएर ३ लाख ३४ हजार ९०० रुपैयाँ जरिवाना असुल गरेको जनाएको छ । उक्त गतिविधिमा संलग्न नौ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, अवैध रूपमा काटिएको तथा ओसारपसार गरिएको ६२ क्युफिट काठ बरामद गरी ३ लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ । अवैध पशुपन्छी नियन्त्रणबाट पनि प्रहरीले ११ लाख १२ हजार ३०० रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।
प्रहरीले ट्राफिक नियमको पालना गराउन, सवारी दुर्घटना न्यूनीकरण गर्न तथा अवैध गतिविधि नियन्त्रण गर्न प्रदेशभर निगरानी र कारबाहीलाई निरन्तरता दिएको जनाएको छ ।

















प्रतिक्रिया