नेपालबाट पाकिस्तान पुगेका फरहान प्लेइङ–११ मा परेनन्


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका पाकिस्तानी क्रिकेटर साहिब्जादा फरहानलाई पाकिस्तानले स्वदेश बोलाए पनि श्रीलंकाविरुद्धको खेलमा प्लेइङ–११ मा समावेश गरेन । एकदिवसीय टोलीमा राखेर नेपालबाट बोलाइएका फरहानलाई आजको खेलमा बेन्चमा राखिएको छ ।

फरहान चार दिनअघि एनपीएल खेल्न नेपाल आएका थिए । उनी कर्णाली याक्समा आबद्ध छन् । तर, पाकिस्तान क्रिकेट बोर्डले घरेलु मैदानमा जारी श्रीलंका र इंग्ल्याण्ड सम्मिलित त्रिकोणात्मक सिरिजका लागि उनलाई टोलीमा समावेश गरेपछि तत्काल पाकिस्तान फर्किन निर्देशन दिएको थियो ।

पाकिस्तानले ओपनर साइम अयुबलाई हटाएर फरहानलाई टोलीमा राखेको थियो । बोर्डको निर्देशनपछि फरहानले एनपीएलका खेल नखेली मंगलबार पाकिस्तान फर्किएका थिए ।

नेपालबाट फर्किएपछि श्रीलंकाविरुद्धको खेलमा फरहानले ओपनिङ गर्ने अपेक्षा गरिएको थियो । तर, पाकिस्तानले उनलाई प्लेइङ–११ मा नराखी माज सदाकत र फखर जमानलाई ओपनिङमा उतारेको छ ।

खेलमा पाकिस्तानका दुवै ओपनर सस्तैमा आउट भएका छन् । पहिलो ब्याटिङ गरिरहेको पाकिस्तानले सुरुवातमै विकेट गुमाएपछि दबाब सामना गरिरहेको छ ।

नेपालमा एनपीएल खेल्न आएका फरहानलाई पाकिस्तानले तत्काल बोलाए पनि पहिलो खेलमै मैदान उत्रिने अवसर नदिएपछि उनको सहभागितालाई लिएर चासो बढेको छ ।