काठमाडौं प्रहरीको विशेष अभियान : एकै दिन ९२ जना पक्राउ


काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सञ्चालन गरेको स्वीप अपरेसनका क्रममा पछिल्लो २४ घण्टामा ९२ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा ८४ जना पुरुष र ८ जना महिला रहेका छन् । प्रहरीले उच्छृङ्खल गतिविधिमा संलग्न हुने तथा आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूमाथि विशेष निगरानी बढाउँदै उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

समाजमा शान्ति सुव्यवस्था कायम राख्ने, सम्भावित आपराधिक गतिविधि रोक्ने तथा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले प्रहरीले यस्तो अभियान सञ्चालन गरेको हो ।

काठमाडौंका विभिन्न क्षेत्रमा निगरानी बढाउँदै शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कारबाही गरिएको प्रहरीले जनाएको छ ।